एमाले भित्रको विवादले वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्रीको दाबीमा ढिलाइ हुने

श्रावण ७, २०८१ | मकवानपुर

नेकपा एमालेभित्र मन्त्री बन्ने विषयमा विवाद हुँदा वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्रीको दाबीमा ढिलाइ हुने भएको छ ।

बहुमत सांसदको हस्ताक्षरसहित नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज बिहान १० बजे प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेपनि एमालेभित्र विवाद हुँदा रोकिएको हो ।

काँग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख यादव शर्मा समक्ष कंग्रेस नेता लामा दाबी पेस गर्न तयार भएपनि एमाले संसदीय दलका नेता जग्गनाथ थपलियाले आफू काठमाडौं जानुपर्ने बताएपछि रोकिएको एक सांसदले बताए ।

नयाँ बन्ने मुख्यमन्त्री लामाले एकैपटक सबै मन्त्रीको शपथग्रहण गर्ने गरी तयारी अगाडि बढाउन सत्तारुढ दलको छलफलको क्रममा प्रस्ताव राखेका थिए ।

त्यसपछि दुवै दलले मन्त्रीको सूचीलाई अन्तिमरुप दिएपनि विवाद देखिएको छ । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि भोलि साँझ ५ बजेसम्म दाबीका लागि समय तोक्नुभएको छ ।  


प्रतिक्रिया