परराष्ट्र सचिव लम्साल र चीनको युनान प्रान्तका उप-प्रशासक हाओबीच शिष्टाचार भेट

श्रावण १०, २०८१ | काठमाडौं

परराष्ट्र सचिव सेवा लम्साल र चीनको युनान प्रान्तका (उप-प्रशासक) वाङ हाओबीच आज शिष्टाचार भेट भएको छ ।

भेटमा दुवै पक्षबीच नेपाल–चीन सम्बन्धको द्विपक्षीय हितको विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

भेटमा परराष्ट्र सचिव लम्सालले चीनले हासिल गरेको आर्थिक प्रगतिमा खुशी व्यक्त गर्दै सन् २०२६ सम्म अल्पविकसित मुलुक एलडीसीबाट पास भई विकसित मुलुकको लागि माथिल्लो खुट्किलो चढ्ने प्रयासकाबीच चीनबाट बढेको विकास सहयोग र लगानीबाट फाइदा लिन नेपाल इच्छुक रहेको बताउनुभयो ।

भेटमा द्विपक्षीय सम्बन्ध राम्रो अवस्थामा रहेको भन्दै व्यापार, लगानी, पर्यटन, सञ्जाल, ऊर्जा, कृषि र मानव आदान प्रदानमा थप सहयोग अभिवृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने समेत धारणा राखिएको थियो ।

सो भेटमा परराष्ट्र सचिव लम्सालसहित चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ पनि सहभागि हुनु भएको थियो । साउन ६ मा चीन भ्रमणमा जानु भएको परराष्ट्र सचिव लम्साल भोलि डाली युनिभर्सिटी अवलोकन गर्ने कार्यक्रम छ । एक साताको भ्रमण पुरा गरी उहाँ पर्सि नेपाल फर्किने तालिका छ ।  


प्रतिक्रिया