विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव आफन्तलाई बुझाइदै

श्रावण ११, २०८१ | काठमाडौं

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

शव पहिचान गर्ने कार्य सकिएसंगै आज अपरान्ह ४ बजेदेखि आफन्तलाई जिम्मा लगाइने तयारी गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिनुभयो ।

पोस्टमार्टमबाट संकलन गरिएको विवरण र आफन्तले उपलब्ध गराएका विवरण मिलान भएसंगै शवको सम्पूर्ण सनाखत प्रक्रिया पूर्ण हुने र सो पश्चात हस्तान्तरण गरिने डा. चौधरीले बताउनुभयो । 

शरीरमा भएका चोटपटक, दांतको प्रकार, कुनै शल्यक्रियाको दाग लगायत पोस्टमार्टम र आफन्तले उपलब्ध गराएका प्रमाणका आधारमा शवको सनाखत हुने उहांले बताउनुभयो ।

पोष्टमार्टमको रिपोर्ट र आफन्तले उपलब्ध गराएका विवरण नमिलेको खण्डमा भने डीएनए परिक्षण गर्नुपर्ने डा. चौधरीको भनाई छ ।

 फरेन्सिक विज्ञ डा. चौधरीको नेतृत्वमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पतालका समेत गरी २५ भन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी पोस्टमार्टममा खटिएका थिए । 


प्रतिक्रिया