पुर्नयोगका लागि तेब्बर बढीको आवेदन

श्रावण १२, २०८१

माध्यमिक शिक्षा परीक्षा एसईईको पुर्नयोगका लागि गत वर्षको तुलनामा यो वर्ष तेब्बर बढी विद्यार्थीको आवेदन परेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार गत वर्ष झण्डै ५ हजारको हाराहारीमा विद्यार्थीले पुर्नयोगका लागि आवेदन दिएकामा यस पटक १८ हजार ५ सय ६ जनाको आवेदन परेको छ । 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अहिलेसम्म आवेदन परेका मध्ये ११ हजार ४ सयको नतिजा सार्वजनिक भइसकेको छ । त्यसमध्ये झण्डै ६ प्रतिशत विद्यार्थीको नतिजा परिवर्तन भएको नियन्त्रक पौडेलले बताउनुभयो । पुर्नयोगको नतिजा पूरक परीक्षा अगाावै सार्वजनिक गरीसक्ने उहाँको भनाई छ ।

बोर्डले नयाँ लेटर ग्रेडिङ प्रणाली अनुसार परीक्षा फल प्रकाशित गरेसँगै पुर्नयोगका लागि विद्यार्थीको चाप बढेको हो । एसईईको नतिजामा सैद्धान्तिक तर्फ अनिवार्य ३५ प्रतिशत र प्रयोगात्मक तर्फ १० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाका कारण ५२ प्रतिशत बढी विद्यार्थी नन् गे्रडिङ भएका छन् । तत्कालिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्नु भएको मन्त्रीस्तरीय निर्णय अनुसार नन् ग्रेडिङ भएका सबै विद्यार्थीले पूरक परीक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको छ । एसईईको पूरक परीक्षा यही साउन २३ गतेदेखि शुरु हुँदैछ । 


प्रतिक्रिया