निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समिति बैठक आह्वान

श्रावण १२, २०८१ | काठमाडौं

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आह्वान गरिएको छ ।

संसदीय सुनुवाइ सकिइसकेको अवस्थामा प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक तय गरिएको हो ।

संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक पर्सि सोमबार बिहान साढे ११ बजे बस्नेगरी आह्वान भएको जानकारी दिनुभयो ।

प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत महिलामाथि यौन शोषण गरेको आरोप छ । प्रधानको संसदीय सुनुवाइ समितिमा छलफल विचाराधीन छ । पीडित महिलाले समितिमा नै आएर उजुरी र बयान दिएकी थिइन् ।

 सुनुवाइ समितिले गत साउन ९ मा प्रधानको कार्ययोजना सुनेर प्रश्न गरेका थिए । सांसदहरूले निर्वाचन आयुक्त पदमा प्रस्तावित प्रधानको ‘नैतिक चरित्र’ मा प्रश्न उठाएका थिए । संविधानको धारा २४५ को उपधारा ६ (घ) मा ‘उच्च नैतिक चरित्र भएको’ व्यक्ति निर्वाचन आयुक्तका लागि योग्य हुने उल्लेख छ ।


प्रतिक्रिया