नेपाली विद्यार्थीको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीको टोली ओडिसामा

फाल्गुन ६, २०८१

भारतको ओडिसा राज्यस्थित कलिंगा विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विश्वविद्यालय पुगेको जानकारी सामाजिक सञ्जालमार्फत् गराउनुभएको हो ।

घटनापछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको परराष्ट्रमन्त्री राणाको भनाइ छ । उहाँले भन्नुभएको छ–“नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ ।” 

परराष्ट्रमन्त्री राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको समेत बताउनुभएको छ । 


प्रतिक्रिया