काठमाण्डौं विश्वविद्यालयको उपकुलपति छनौट पेचिलो बन्दै

फाल्गुन ६, २०८१
काठमाण्डौं विश्वविद्यालयको उपकुलपति छनौट पेचिलो बन्दै गएको छ । अन्तवार्ता लिएको पाँच दिन बितिसक्दा पनि उम्मेदवार टुंगो लाग्न सकेको छैन । फागुन २ गते सर्टलिष्टमा परेका उम्मेदवारसँग उपकुलपति खोज तथा सिफारिस समितिले बिजनेस प्लान प्रस्तुत गराएको थियो । फागुन ३ गते अन्तवार्ता लिइएको थियो । सामान्यतः अन्तवार्ता लिइएकै दिन मेरिटका आधारमा अगाडि भएका उम्मेदवारको नाम कुलपतिले सिफारिस गर्नुपर्नेमा अन्तिम तीनजनाको नाम पनि सिफारिस हुन सकेको छैन । विज्ञसहितको सिफारिस समितिले प्रस्तुति र अन्तर्वार्ताका आधारमा डा सुबोध शर्मा, डा अच्युत वाग्ले, प्राडा बालचन्द्र लुइँटेल, प्राडा भोला थापा र डा जनार्दन लामिछानेसहितलाई मेरिट लिष्टमा छानेको छ ।
माघ ६ गते उपकुलपतिको कार्यकाल समाप्त भएपछि डा थापालाई नै कार्यवाहकका रूपमा निरन्तरता दिन सिफारिस गर्न संयोजक शर्माले प्रधानमन्त्री ओलीसमक्ष औपचारिक पत्र लेखेपछि समितिका संयोजक विवादमा पर्नुभएको थियो । प्रधानमन्त्री एवं कुलपति ओलीले कार्यकाल सकिएपछि कार्यवाहक दिनु नियम विपरीत हुने ठानेर रजिष्टार प्राडा अच्युत वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।
सिफारिस समितिको मापदण्ड र सूचनाबारे सार्वजनिक प्रश्न उठेपछि गत माघ ४ गते बसेको विश्वविद्यालयको सभामा कुलपति ओलीले पुनः उम्मेदवार आव्हानको सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको थियो ।सिफारिस समितिले उपकुलपति पदमा गरेको पहिलो आव्हानमा १७ जनाको आवेदन परेपनि १० जनालाई संक्षिप्त सूचीमा समावेश गरी प्रस्तुतीकरण गराएको थियो । समितिमा पूर्व उपकुलपति सुरेशराज शर्मा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्की र पूर्व सचिव जर्नादन नेपाल रहेका छन् ।