लामो रस्साकस्सीपछि धरानको बजेट पारित

रेडियो कान्तिपुर संवाददाता

भाद्र २१, २०८२ | धरान

लामो रस्साकस्सीपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संशोधनसहित पारित गरेको छ । कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तय गरेको बजेटबाट चालु खर्च बाहेक पुँजीगततर्फ कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकमा मेयर हर्क साम्पाङले बजेटसम्बन्धी १५ वटा एजेन्डा प्रस्तुत गरेका थिए । बैठकमा एमालेका तर्फबाट कार्यपालिका सदस्य सावित्री परियारले बजेट १० प्रतिशत घटाउने संशोधन प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई कार्यपालिका बैठकले सहमति जनाउँदै सर्वसम्मतरुपमा बजेट पारित गरेको हो ।

 कार्यपालिका बैठकले संशोधनसहित नीति तथा कार्यक्रम पास गर्ने निर्णय पनि गरेको छ । नीति तथा कार्यक्रममा यसअघि नेकपा एमालेले दिएका बुँदागत सुझावहरूलाई समेटेर अर्को कार्यपालिका बैठकमा संशोधनसहित पारित गर्ने निर्णय भएको छ । यसैबीच, नगर सभा भदौ २६ गते गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया