रुपन्देहीको दूरगामी बहुउद्देश्यीय सहकारी ठगी: एक हजार ८ सय ४ जनाको उजुरी

भाद्र २१, २०८२ | रुपन्देही
रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका एक हजार ८ सय ४ जना सदस्यले बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । यसअघि प्रहरीले रकम ठगी वा हिनामिना भएको भए प्रमाणसहित उजुरी गर्न आग्रह गरेको थियो । सहकारीको रकम हिनामिना भएपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा फरार छन् । व्यवस्थापक बसन्त पराजुली भने पक्राउ परिसकेका छन् । सहकारीमा शेयर सदस्यको करिब ३३ करोड रुपैयाँ बचत छ ।
छानबिन समितिले एक महिनामा तयार पारेको प्रतिवेदनमा अध्यक्ष, सचिव र व्यवस्थापक गरी तीन जनाले १२ करोड हिनामिना गरेको र २५ करोड रुपियाँ अपचलन भएको पाइएको उल्लेख छ । प्रतिवेदन अनुसार सञ्चालक समितिबाट मात्र ८ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको छ । सहकारीको कुल ऋणमध्ये २१ करोड ७४ लाख रुपैयाँ भन्दा बढी रकम जोखिममा परेको बताइन्छ ।