नेपाल घुम्न आउने पर्यटकको संख्या २५ प्रतिशतले बढ्यो

असार २६, २०७६ | काठमाडौं

नेपाल भ्रमणमा आउने पर्यटकको संख्या सन् २०१८ मा २५ प्रतिशतले वृद्धि भएको छ । संस्कृति, पर्यटन तथा नागरक उडड्यन मन्त्रालयले सार्वजनिक गरेको नेपाल टुरिज्म स्टाटिक्सटिस अनुसार सन् २०१७ को तुलनामा २०१८ मा पर्यटकको संख्यामा २५ प्रतिशतले वृद्धि भएको हो ।

सन् २०१८ मा नेपाल भ्रमणमा आउने अधिकांश पर्यटक छिमेकी मुलुक भारत र चीनका छन् । सन् २०१८ मा कुल ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

सन् २०१८ मा भारतबाट एक लाख ९४ हजार ३ सय २३ र चीनबाट एक लाख ५३ हजार ६ सय ३३ पर्यटक नेपाल भ्रमणमा आएको मन्त्रालयको तथ्याङ्क छ । अमेरिकाबाट ९१ हजार ८ सय ९५, बेलायतबाट ६३ हजार ४ सय ६६ र श्रीलंकाबाट ६९ हजार ६ सय ४० पर्यटक नेपाल भित्रिएका छन् । 
 

यस्तै, सन् २०१८ मा सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्स मध्ये राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम शीर्ष स्थानमा रहेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार सबै भन्दा बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्स मध्ये नेपाल एयरलाइन्स स्थानमा आएको हो । गत वर्ष पहिलो स्थानमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै निगम शीर्ष स्थान उक्लिएको हो ।

आर्थिक सङ्कटमा परेपछि जेट एयरवेज केही महिना देखि बन्द रहेको छ । बढी पर्यटक बोक्ने एयरलाइन्सको दोस्रो स्थानमा जेट एयरवेज, तेस्रोमा कतार एयरवेज, चौंथो स्थानमा फ्लाई दुबई र एयर इन्डिया रहेका छन् । सन् २०१७ मा सबैभन्दा बढी विदेशी पर्यटक बोक्नेमा जेट एयरवेज शीर्ष स्थानमा रहेको थियो ।

दोस्रोमा नेपाल एयरलाइन्स, कतार एयरवेज तेस्रो, एयर अरेबिया चौंथो र फ्लाई दुबई पाँचौं स्थानमा रहेको थियो । निगमको वार्षिक प्रतिवेदन अनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको छ । सो अवधिमा निगमले चार लाख ९३ हजार १ सय ७० यात्रुलाई सेवा दिएको जनाएको छ ।

निगमले भारतका तीन गन्तव्य सहित विभिन्न छ देशका आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमका हाल दुई वटा वाइडबडी ए–३३०, दुई न्यारोबडी ए–३२० जहाजले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । 


प्रतिक्रिया