नेपालको कृषि क्षेत्र खस्किंदै : मन्त्री खनाल

श्रावण २७, २०७६ | काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणी खनालले नेपालको कृषि क्षेत्र खस्किंदै गएको बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले आयोजना गरेको एशियन कृषि सम्मेलन तथा प्रर्दशनीको उद्घाटन गर्दै मन्त्री खनालले कृषिमा उल्लेख्य रुपमा विकास हुन नसकेको बताउनुभयो ।

कृषिको विकास हुन नसकेको भन्दै उहाँले अहिले भन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज भन्दा १० वर्ष अघि भुटान, बङलादेश, श्रीलंका भारत जहाँ थिए, अहिले त्यहाँ छैनन्, धेरै फड्को मारिसके । तर नेपालको कृषि जुन गतिमा अघि जानु पर्ने थियो । त्यो गति समात्न सकेको छैन ।’

मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्ग्यानिक र आधुनिक परियोजना ल्याएको भन्दै अबको १० वर्षमा नेपालको कृषिले फड्को मार्ने दाबी गर्नुभयो । कृषि क्षेत्रको विकास नहुँदा यसले नेपाली युवालाई आकर्षित गर्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यसको मतलब कृषिमा केही भएको छैन भन्ने होइन । युवालाई कृषिमा आकर्षित गर्नुपर्छ । त्यसो भएमा युवा विदेश जान्न । जानै परे पैसा हालेर घुम्न जान्छ । युवालाई आकर्षित मात्र होइन राज्य प्रति जिम्मेवार पनि बनाउनु पर्छ ।’ 

राजनीतिक दलका नेताले नेतृत्व गरेपछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर, दलका नेताले नेतृत्व गरेपछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ । त्यसको कारण के हो ? त्यस्को दायित्व सरकारले लिनु पर्छ ।’ 

नेपालको कृषि क्षेत्रको वर्तमान अवस्था हेर्दा पञ्चायतको भन्दा खस्किएको भन्दै उहाँले विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्‍याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जति अनुसन्धानहरु भएका छन्, ति अंग्रेजी भाषामा छन्, खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्‍याउन नसक्दा धेरै समस्या आएको हो ।’

विगत देखि आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा किसान समक्ष पुर्‍याउन लागेको भन्दै किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको उहाँले बताउनुभयो । मन्त्री खनालले जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताउनुभयो । 

आगामी दिनमा तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने तथा विषादी र रासायनिक मल प्रयोग नभएको कर्णाली लगायतका क्षेत्रमा अर्ग्यानिक उत्पादनका लागि योजना अगाडी बढाइएको उहाँले बताउनुभयो । कृषि क्षेत्रमा रहेको विषादीको समस्या समाधानका लागि विषादी परीक्षण ऐन ल्याउने तयारी भईरहेको भन्दै उहाँले ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताउनुभयो ।

अहिले पनि विषादी परीक्षणका तीन वटा ल्याबको लागि बजेट छुट्याइएको भन्दै मन्त्री खनालले अबको आठ महिना भित्र अन्तर्राष्टिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणमा देखिएका समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । कृषिमा युवा कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिंदै उहाँले त्यसलाई ५ वर्ष सम्म सञ्चालन गर्ने बताउनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रम भोलिसम्म चल्नेछ । कार्यक्रममा  कृषिमा युवा सहभागिता, नेपाली कृषि उत्पादनको बजारीकरण, जलवायु परिवर्तन तथा नेपाली खाना संस्कृति लगायतका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहभागीहरुसँग कार्यपत्र प्रस्तुत, प्लेनरी शत्र, अनुभव आदान प्रदान तथा नेटवर्किङ्ग तथा नेतृत्व विकास कार्यक्रम हुने छन् । 


प्रतिक्रिया