महरा सांसदबाट निलम्बित

रेडियो कान्तिपुर संवाददाता

आश्विन २४, २०७६ | काठमाडौं

काठमाडौँ — संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा हिरासतमा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बन भएका छन् ।

संघीय संसद सचिवालयले फौजदारी अभियोग लागेका महराको सांसद पद निलम्बनमा परेको जनाएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना बिहीबार जारी गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था छ । महरा पक्राउ परेपछि कार्यालय खुलेकै दिन सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुनेछ ।

तत्कालीन सभामुख महराले सचिवालयकै कर्मचारी शाहीलाई तीनकुनेस्थित निवासमा गएर दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारको घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । शाहीले आफूमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमतिमा महरालाई सभामुखकै सरकारी निवासबाट आइतबार पक्राउ गरी हिरासतमा राखेको छ ।


प्रतिक्रिया