चालू आवमा ७.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान

कार्तिक २८, २०७६ | काठमाडौं

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ७ दशमलव शुन्य १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रारम्भिक अनुमान गरेको छ । बजेट मार्फत चालू आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य लिएको अर्थ मन्त्रालयले, गत साउनदेखि असोज मसान्तसम्मको समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै, त्यसलाई संशोधन गरेको हो ।

मन्त्रालयका अनुसार चालू आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४ दशमलव ४१ प्रतिशत अर्थात १८ अर्ब ३६ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । 

चालू खर्च भने १६ दशमलव ३८ प्रतिशत अर्थात १ खर्ब ५६ अर्ब पुगिसकेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । १ खर्ब ९७ अर्ब ९९ करोड राजश्व संकलन भएको मन्त्रालयले प्रारम्भिक अनुमान गरेको छ । यो लक्ष्य भन्दा ५४ अर्ब ४१ करोडले कम हो ।

यस्तै सरकारी कोषको अवस्था १ खर्ब ८१ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको अर्थ मन्त्रालयले जनाएको छ । पहिलो त्रैमासिकमा २ अर्ब २९ अर्ब ५० करोड बराबरको आयात हुँदा १८ अर्ब ५० करोड रुपैयाँ बराबरको निर्यात भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया