दुई वटा जलविद्युत आयोजना अन्तिम चरणमा
कार्तिक ७, २०७४ | पाँचथर
पाँचथरमा निर्माणाधिन दुई वटा ठूला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यी जलविद्युत आयोजना आगामी मंसिर देखि विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको जनाएका छन् ।
पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमावर्ती कावेली खोलाबाट २५ मेगावाटको काबेली बी प्रथम जलविद्युत आयोजना र फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको भारपाको सीमाना हेवाखोलाबाट २१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना अन्तिम चरणको निर्माण कार्य भइरहेको प्रवद्र्धक कम्पनीले जनाएका छन् ।
यी आयोजनाले अर्को महिना देखि विद्युत उत्पादन हुरु गर्ने जनाएका छन् । अरुण काबेली इनर्जी लिमिटेडको चार अर्ब रुपैंयाँ लगानीमा दुई वर्ष देखि निर्माणाधिन काबेली बी–१ जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण कार्य पूरा भइसकेको आयोजना प्रमूख इन्जिनियर हस्तमान राईले जानकारी दिनुभयो ।
कावेली र इवाखोला दोभानमा बाँध निर्माण गरी याङवरक गाउँपालिकाको थर्पूदेखि हिलिहाङ गाउँपालिकाको नागीमा पर्ने मेची राजमार्गको गणेशचोक देखि ८ किलोमिटर तल दाहालगाउँको पिपलटारसम्म ५ किलोमिटर पेन्सटक (फालामे) पाइपलाइन विस्तार, विद्युत गृह निर्माण भइसकेको छ । विद्युत गृहमा टर्वाइन, जेनेरेटर, गवर्नर लगायत आवश्वयक उपकरण जडान पूरा भएपछि विद्युत उत्पादन शुरु हुने आयोजना व्यावस्थापक एवं इन्जिनियर हस्तमान राईले जानकारी दिनुभयो ।
हिलिहाङ गाउँपालिकाको भारपा र फिदिम नगरपालिकाको सीमाना हेवा खोलाबाट निर्माणधिन २१ किलोवाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाले ८० प्रतिशत निर्माण कार्य पूरा गरेको जनाएको छ । गत साउनमा हेवाखोला र फेमेखोलाबाट आएको बाढी आयोजनाको सुरुङभित्र प्रवेश गरेर आयोजनाको उपकरणसहित सर्वसाधारणको खेतबारी बगाएपछि निर्माण कार्यमा बाधा भएकोले केही समय ढिलो हुने सम्भावना रहेको आयोजनाका जनसम्पर्क अधिकृत श्याम अधिकारीले बताउनुभयो ।
माउन्टेन हाइड्रोनेपाल प्रालिद्वारा प्रवद्र्धित चार अर्ब रुपैयाँ लगानीमा निर्माणधिन हेवाखोला जलविद्युत आयोजनाले ५ हजार ४ सय मिटर सुरुङमार्ग, मुहानमा बााध र विद्युतगृह निर्माण गरिसकेको कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक सिताराम तिमिल्सिनाले बताउनुभयो । हेवाखोला जलविद्युत आयोजनाले विद्युत गृहमा टर्वाइन, जेनेरेटर, गवर्नर, उपकरण जडान लगायत अन्तिम चरणको निर्माण कार्य भइरहेको जनाएको छ ।
यी दुई वटा आयोजना पूरा भएपछि पाँचथरमा निजी क्षेत्रबाट विद्युत उत्पादन क्षमता ६२ मेगावाट पुग्ने छ । पाँचथर पावर कम्पनीले गतवर्ष फागुनको देखि १५ मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजना संचालनमा ल्याएको छ । यसअघि याङनाम र नाङगीनको सिमा फेमेखोलाबाट विके हाइड्रो्पावर कम्पनीले ९ सय ९५ किलोवाट क्षमताको जलविद्युत उत्पादन गरी उपभोक्तालाई वितरण गरिसकेको छ ।
सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले सबैभन्दा पहिलो २०३८ सालमा दुई वटा साना जलविद्युत आयोजनाबाट करीब २ सय ५० किलोवाट क्षमताको विद्युत उत्पादन गरी सदरमुकाम फिदिम बजारमा वितरण गरेको थियो । जिल्लामा नवनिर्मित विद्युत आयोजनाहरु संचालनमा आएपनि निर्माणाधिन १ सय ३२ केभि कावेली करिडोर प्रशारण आयोजना पूरा नभएसम्म राष्ट्रिय प्रशारणलाइनमा समावेश गर्न सकिन्दैन ।
झापाको दमकदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ र तेह्रथुम सम्मका लागि निर्माणधिन एक सय ३२ किलोभोल्ट क्षमताको केन्द्रीय प्रशारण लाइन ठेकेदार भारतीय कम्पनी जग्वर एण्ड एस्तर संयुक्त निर्माण कम्पनी र नेपाल विद्युत प्राधिकरण आयोजनाका कर्मचारीको वेवास्ताका कारण कावेली करिडोर आयोजना निर्माण कार्य ढिलाई भइरहेको छ ।
सात महिनाअघि कावेली करिडोर आयोजना र पूर्वाञ्चलमा निर्माणाधिन जलविद्युत आयोजना निरीक्षण अनुगमनमा आएका तत्कालिन ऊर्जामन्त्री जनादर्शन शर्माले चार महिनाभित्र आयोजना पूरा गर्न निर्देशन दिएपनि आयोजनाका कर्मचारी र भारतीय ठेकेदार कम्पनीले अवज्ञा गरे । गत असारमा कावेली करिडोर आयोजना पूरा गरी नवनिर्मित १५ मेगावाट क्षमताको हेवाखोला ए जलविद्युत राष्ट्रिय प्रशारण लाइनमा समावेश गरी उपभोक्तालाई वितरण गर्न तत्कालिन ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत निर्देशन दिनु भएको थियो । तर हालसम्म कावेली करिडोर आयोजना पूरा नहुँदा हेवाखोला ए जलविद्युत आयोजना खेर गइरहेको छ ।
पाँचथरमा विद्युत प्राधिकरणले ३३ केभि प्रशारण लाइन मात्र विस्तार गरेको छ । कावेली करिडोर १ सय ३२ केभि प्रशारण लाइन आयोजना पूरा नभएसम्म निजी क्षेत्रकाट उत्पादित तल्लो हेवाखोला र कावेली वी–१ जलविद्युत अयाोजना खेर जाने छन् । आगामी माघमा ताप्लेजुङ र पाँचथरको सीमा इवाखोलाबाट समेत अर्को रैराङ हाइड्रोपावर कम्पनीले ९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजनाको निर्माण पूरा गर्ने जनाएको छ । इवाखोला जलविद्युत आयोजना ६० प्रतिशत निर्माण पूरा भइसकेको प्रवन्ध निर्देशक कुवेरमणी नेपालले बताउनुभयो ।