सञ्चालनको तयारीमा चतरा जल विद्युत केन्द्र

कार्तिक १८, २०७४ | बराह (सुनसरी)

- यान्त्रिक गडबडीका कारणले सात वर्षदेखि बन्द रहेको सुनसरीको बराह नगरपालिकास्थित चतरा जल विद्युत केन्द्र पुन: सञ्चालनमा आउने भएको छ । सप्तकोसी नदीको पानीबाट सञ्चालित यो एक मात्र विद्युत केन्द्र हो । १ दशमलव ६ मेगावाटका दरले विद्युत उत्पादन गर्ने यो केन्द्रको दुई वटै युनिटहरु पूर्ण रुपमा ठप्प थियो ।

स्थानीय बराहबासी उपभोक्तालाई विद्युत वितरणपछि राष्ट्रिय प्रसारण लाइनमा समेत सहयोगी ३ दशमलव २ मेगावाट उत्पादन क्षमता भएको यो केन्द्रको दुई नम्बर युनिटको मरम्मत कार्य अन्तिम चरणमा पुगेको छ । कात्र्तिकको अन्तिम सातादेखि उक्त युनिट सञ्चालनमा आउने केन्द्रका सहायक इन्जिनियर हरिसुन्दर माझीले बताउनुभयो । सो केन्द्रको दुवै युनिटबाट धरान र उदयपुरको केही भागमा समेत विद्युत आपूर्ति हुँदै आएको थियो ।

एक जर्मन कम्पनीद्वारा निर्मित यो केन्द्रको युनिट नम्बर दुई चाँहि रबरको शील बिग्रेर २०६७ भदौ देखि बन्द भएको थियो । यसपछि नहरको क्षमता र किसानको मागअनुरुप सिंचाइका लागि पानी दिनलाई युनिट नम्बर एककै भर पर्नु परेको उहाँले बताउनुभयो ।  

यो एक नम्बर युनिटमा पर्याप्त पार्टपुर्जा नभएकाले दुईको खोलेर ल्याउँदै जोड्दै काम चलाएको माझीले जानकारी दिनुभयो । सम्पूर्ण यान्त्रिक सामाग्री प्रयोग गर्दै सकेर २०७१ भदौ देखि युनिट नम्बर एक पनि बन्द भयो । दुई नम्बर युनिटको सञ्चालन लगतै अर्कोको मरम्मत प्रक्रिया अघि बढाइने केन्द्रले जानकारी दिएको छ ।

उहाँले भन्नुभयो, ‘कुनै पनि बेला सञ्चालनमा आउने गरी दुई नम्बर युनिटमा धमाधम काम भइरहेको छ,’ । नहरमा पर्याप्त पानी भएको बेला उक्त केन्द्रको एक युनिटबाट मात्रै १ हजार ६ सय किलोवाट र अन्यबेला करीब १ हजार २ सय किलोवाट उत्पादन हुन्छ । माझीकाअनुसार ८ सय किलो वाटले स्थानीयको माग पुरा हुन्छ भने थप उत्पादन राष्ट्रिय प्रसारण लाइनबाट अन्यत्र वितरण गर्छौं । 

‘राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिने यो केन्द्रले धरानमा भोल्टेजको समस्यालाई सन्तुलन गर्छ,’ माझीले भन्नुभयो, पटकपटक टेण्डर गर्दा पनि स्वदेशमा पार्टपुर्जा फेला नपरेर सञ्चालनमा नीकै ढिलाइ भएको हो । 

उक्त केन्द्रले पार्टपुर्जाको खोजीमा पटकपटक टेण्डर गरेपनि ठेकेदार कम्पनीहरुले ल्याउन सकेन । त्यसपछि उक्त केन्द्रले अन्तत: जर्मन कम्पनी एन्ड्रिज हाइड्रोलाई गुहार्यो । भारतमा सम्पर्क कार्यालय रहेको उक्त कम्पनिका प्राविधिक टोलीले २०७२/७३ मा दुवै युनिटलाई खोलेर निरीक्षण गर्यो । उक्त केन्द्र र कम्पनीबीच ४ करोड ८० लाख रुपैयाँमा युनिट नम्बर दुईलाई बनाएर सञ्चालनमा ल्याउने सहमती भयो । 

यन्त्रको पार्ट खोल्ने, नाप लिने र समान ल्याउने लगायतको काम सकिएको माझीले बताउनुभयो । दुवै युनिटको मर्मत–सम्भारमा ९ करोड भन्दा बढी भारतीय रुपैयाँ लाग्छ । सुनसरी मोरंग सिंचाइ आयोजनाले २०५४ सालमा चतरा नहरमा ३.२ मेगावाट विद्युत उत्पादन गर्ने यो केन्द्र स्थापना गरेको थियो । कोसीको पानी ल्याएर उक्त नहरको निर्माण भएको हो । आयोजनाले २०५६ सालमा सरकारलाई हस्तान्तरण गरेपछि यो विद्युत प्राधिकरणको स्वामित्वमा गएको थियो । 

 


प्रतिक्रिया