पूर्वी पहाडमा पुन: हवाई सेवा सञ्चालन हुने

भाद्र १७, २०७५ | विराटनगर

पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहार सम्ममा पुन: सञ्चालनमा आउने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ । साथै निगमले दशैंमा विराटनगर–काठमाडौं नियमित उडान अघिल्ला वर्षहरु झैं जारी रहने जनाएको छ । विराटनगरबाट भोजपुर र खोटांगको खानीडाँडासम्म गर्दै आएको उडान विमान बिग्रेर बन्द भएको निगमले जनाएको छ ।

निगमले विराटनगर–काठमाडौं दैनिक एक उडान भने गरिरहेको छ । पहाडी क्षेत्रमा सक्दो तिहार अगावै उडान सेवा फेरि सुरु गरिसक्ने निगमको विराटनगरस्थित कार्यालयका वाणिज्य विभागका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिनुभयो ।  

एक मात्र विमान पनि मर्मतका लागि गएकोले पहाडी भेकको उडान प्रभावित भएको पुरीले बताउनुभयो । हाल निगमसँग भएको तीन घरेलु विमान मध्ये दुई मात्र सञ्चालनमा छन् । बढीमा तिहार पछाडि सम्ममा तीन वटै विमान सञ्चालनमा आउने पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन वटै ट्वीन अटर चल्यो भने एउटालाई यहीँ राखेर साताको तीन दिन पहाडी भेकमा उडाउँछौं ।’ २०६०/६२ सम्म विराटनगरबाट सोझै पूर्वी पहाडमा विमान उड्ने गरेको जानकारहरुले बताए । केही वर्षदेखि भने काठमाडौंबाटै आएको विमान पहाडी भेकमा पनि उड्ने गथ्र्यो ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट नागरिकको आवश्यकता अनुरुप सेवा दिन नसकिएको एयरलायन्सका अधिकृतहरु स्वीकार्छन् । पुरीले ताप्लेजुंग, संखुवासभाको तुम्लिंगटार, भोजपुर, ओखलढुंगाको रुम्जाटार र खोटांगको लामीडाँडामा पनि नियमित उडान गर्ने प्रयासमा रहेको बताउनुभयो । यसका लागि विराटनगरमै आधार बनाएर नियमित उडानका लागि एक ट्वीन अटर विमान निगमको केन्द्रीय कार्यालयसँग मागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढुक्कै विराटनगरमा राखेर उडाउने हामीसँग एउटै विमान छैन ।’ 

छ दशक इतिहास बोकेको यो एयरलायन्ससँग कुनै बेला पर्याप्त संख्यामा ट्वीन अटर विमानहरु थिए । दुर्घटनामा परेर र प्राविधिक गडबडी भएर विमान कम भएपनि उसले अहिले जसोतसो घरेलु उडान सेवालाई अघि बढाएको छ । उसले लिजमा लिएको तारा एयरको विमान पनि दुर्घटनामै परेको हो ।

पुरीका अनुसार दशैँमा अघिल्ला वर्षहरु झैं उडान नियमित रहने छ । उहाँले भन्नुभयो, ‘पोहोर साताको छ वटा फ्लाइट थियो, यस पटक अझै बढाउने प्रयासमा छौं ।’ हाल दैनिक एक उडान गरिरहेको निगमको विमानमा ५६ जना यात्रु बोक्ने क्षमता छ । तर काठमाडौंबाट भरिएर आए पनि विराटनगरबाट फर्कंदा भने उसले ४० भन्दा बढी यात्रु बोक्दैन ।

प्राविधिकहरुका अनुसार कम तापक्रममा बढी यात्रु र बढी तापक्रममा कम यात्रु बोक्नु पर्ने कारणले यसो गर्नुपरेको हो । हावामा पानीको मात्रा (आद्रता) अनुरुप दबाब सृजना हुने गरेकाले काठमाडौंबाट आउँदा बढी र यताबाट जाँदा कमै सेवाग्राहीलाई लिएर जाने गरेको उनीहरुले बताए । निगमले चीनसँग वाइटुएल थ्री नामक चार र एमएसिक्स्टी नाम दुई गरी ६ थप नयाँ ट्वीन अटर एक वर्षभित्रै किन्न लागेको छ । ‘आन्तरिक उडानका लागि ९ विमान भएपछि सेवा सहज हुन्छ’ उहाँले भन्नुभयो ।

पुरीले यसपछि पर्यटकीय एवं आर्थिक गतिविधिले समेत गति लिने बताउनुभयो । ‘योसँग स्थानीय ट्राभल एजेन्सी, होटेल, यातायात र श्रमिक समेत जोडिएका हुन्छन्, उहाँले भन्नुभयो, ‘नउड्दा यो वर्ग प्रत्यक्ष मर्कामा पर्छन् ।’ 

अन्य विमान सेवाको भाडा दर महंगो भएको उहाँले बताउनुभयो । ‘निगमको जहाज उड्दा त अरुले पनि भाडादर घटाउँछ, पुरीले भन्नुभयो, ‘प्राविधिक गड्बडीले हाम्रोले उडान नगरेको दिन त अरुले यात्रुसँग दोब्बर भाडा असूल्छन् ।’ नीकै कमले गाडी किन्ने हैसियत भएको यो मुलुकमा धेरैले बाध्यतावश विमान चढ्ने गरेको निगमका एक जानकार बताउंछन् । उहाँले भन्नुभयो, ‘निगमले पर्याप्त आन्तरिक (घरेलु) उडान नगर्दा अन्तत: यसको प्रत्यक्ष मारमा जनता पर्छ ।’

‘काठमाडौं–विराटनगर तीन उडान गर्न सकिएमा निजी क्षेत्रको एकलौटी नि:सन्देह कम हुन्छ,’पुरीले भने । अन्तर्राष्टिय उडानका लागि भने निगमसँग दुई वटा एयरबस ३२०, दुई एयरबस ३३० र बोइंग ७५७ गरी पाँच विमान छ । निगम स्रोतका अनुसार राज्यले पनि आन्तरिक उडानलाई ध्यान दिएको छैन । ‘नत्र चीनबाट विमान किन किन्थ्यो ? अन्य युरोपेली मुलुकबाट ल्याउथ्यो नि, ’स्रोतले भन्यो । 

अन्तर्राष्ट्रिय उडानबाटै मात्र फाइदा हुनु र धनि वर्ग वा निजी क्षेत्रका उडड्यन माफियाको सशक्त राजनीतिक पहुँचले निगमको आन्तरिक उडान प्रभावकारी हुन नसकेको जानकारहरुले बताए । ‘पैसावाला धूर्त समूहले अनेक तिकडम गरेर थप विमान किन्न दिंदैन, ’स्रोतले भन्यो, ‘एउटा राजनीति निर्णयले उनीहरुलाई दिनमा करोडौंको नाफा/घाटा हुन सक्छ, उनीहरुलाई पूर्व जानकारी हुने भएकाले रातारात धाएर निर्णय परिवर्तन गराउँछन् ।’


प्रतिक्रिया