समाचार संकलनमा हिँडेका पत्रकारमाथि दुर्व्यवहार

वैशाख १५, २०७७ | चितवन

समाचार संकलनमा हिँडेका चितवनका दुई जना पत्रकारलाई प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राख्न भन्दै भरतपुरको कर्भडहलमा पठाएको छ । प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा राखेका पत्रकारलाई नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जमानी बसेर एक घण्टापछि छुटाएर ल्याएका थिए । 

पत्रकारमाथि भएको यस प्रकारको दुर्व्यवहारको विभिन्न निकायले भत्सर्ना गरेका छन् । स्थानीय कायाकैरन दैनिकका सम्पादक विनोद बाबु रिजाल र त्रिवेणी एफएमका सञ्चारकर्मी अर्जुन अधिकारीलाई प्रहरीले सोमबार बिहान १० बजे भरतपुर चौबिसकोठीबाट नियन्त्रणमा लिएको थियो ।

‘हामी समाचार संकलनका लागि यसअघि पनि फिल्डै थियौं । आज चौबिसकोठीमा प्रहरीको चेकजाँच थियो । हामीले पत्रकार हौं भन्दा पनि आज कसैलाई छुट नभएको भन्दै मोटरसाइकल र मान्छे दुबैलाई गाडीमा राखे’ पत्रकार विनोदबाबु रिजालले भने ।

चौबिसकोठीबाट सुरुमा जिल्ला प्रहरी कार्यालय ल्याएको र त्यहाँबाट क्वारेन्टाइन्मा राख्ने भन्दै भरतपुर कभर्डहल पुर्‍याएको पत्रकार रिजालले बताए । कर्भडहलबाट साढे ११ बजे महासंघ चितवन शाखा अध्यक्ष खतिवडाले आफूहरुलाई छुटाएर ल्याएको उनले बताए । 

महासंघ चितवन शाखा, प्रेस संगठन चितवन र नेपाल प्रेस युनियन चितवन शाखाले संयुक्त विज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्षेत्रमा खटिने पत्रकारमाथि दुर्व्यवहार गर्दै नियन्त्रणमा लिने काम भएको छ । ति प्रहरीलाई कारबाही होस भन्ने हाम्रो माग छ ।’ 

कोभिड–१९ को महामारीका बेला सत्यतथ्य सूचना र जानकारी लिनका लागि कार्यक्षेत्रमा खटिने पत्रकारहरुको सुरक्षामा संवेदशील हुन र स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउन पत्रकार सम्वद्ध संघ संगठनहरुले माग गरेका छन् ।


प्रतिक्रिया