पाण्डु बजारमा आगलागी, साढे १२ लाख रुपैयाँ बढीको क्षति

पुस २७, २०७७ | भक्तपुर

भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारमा आइतबार राति आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएको छ । स्थानीय रामकृष्ण चौगुठीको एक तले कच्ची टहरामा भोज बहादुर धिसिङले सञ्चालन गरेको मासु पसलबाट आगो सल्किएको हो । 

आइतबार राति करीब १२ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा अन्य पाँच पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करीब १२ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताउनुभयो । 

मध्यरातमा भएको आगलागी जुद्ध बारुण यन्त्र भक्तपुर, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राति नै आगो निभाइएको उहाँले बताउनुभयो । आगलागीबाट घिसिङको मासु पसलमा रहेको ज्यूँदो ब्रोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान, नारायण साडेमियाले सञ्चालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुसी नष्ट भएको छ ।

त्यसैगरी, रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । 

विमल घिमिरेले सञ्चालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु र नरेश कर्माचार्यको कोठा समेतमा आगलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ताकपडा र अन्य सामान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया