अटोमेटिक पेस्तोलसहित दाङबाट एक पक्राउ

पेस्तोलसहित पक्राउ परेका इन्द्रकमल बुढालाई आज जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिंदै । तस्बिर : दुर्गालाल केसी/रेडियो कान्तिपुर । 

भाद्र १९, २०७८ | दाङ

अटोमेटिक पेस्तोल सहित दाङबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिका–९ सखी घर भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयले दाङले शनिबार पत्रकार सम्मेलन गरी बुढामगरलाई सार्वजनिक गरेको थियो । हतियार प्रयोग गरी सर्वसाधारणलाई त्रसित पार्दै हिँडेको सूचनाको आधारमा डीएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरीको टोलीले बुढामगरलाई शुक्रबार पक्राउ गरेको हो । 

उनको घर खानतलासी गर्दा रा ५ प ८७६२ नम्बरको स्कूटरमुनि लुकाइछिपाई राखेको अवस्थामा एक राउण्ड गोली लोड गरेको पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । बुढाले यसअघि स्थानीय साने घर्तीलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग कसुरमा २ वर्ष ६ महिना कैद सजाय भोगिसकेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताउनुभयो । 

उनलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १३२ को उपदफा १ बमोजिम कसुर गरेकोले उपदफा २ बमोजिम ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुनसक्ने उहाँले बताउनुभयो । हतियार कहाँबाट कसरी ल्याएको भन्ने बारे विस्तृत अनुसन्धान भईरहेको काफ्लेले जानकारी दिनुभयो । 


प्रतिक्रिया