दुई लाख अमेरिकी डलरसहित पोखराबाट एक पक्राउ

मंसिर ११, २०७८ | कास्की
कास्कीको पोखरा महानगरपालिका गगनगौडाबाट दुई लाख अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भई हाल पोखराको पृथ्वीचोक बस्दै आएका ४२ वर्षीय छिरिङ ढुन्डु गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त टोलीले सुराकीको आधारमा उनलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन शुक्रबार साँझ चेकजाँच गर्ने क्रममा अवैध रुपमा लिई हिँडेको अमेरिकी डलर १ लाख ९४ हजार २ सय बरामद गरेको प्रहरीले जनाएको छ ।
सो रकमको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ११९.५ का दरले २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ पर्न आउँछ । प्रहरीले उनको साथबाट २ वटा मोबाइल, एउटा चेकबुक र नागरिकताको प्रमाणपत्र पनि बरामद गरेको जनाएको छ ।