वेस्ट इण्डिज र इण्डिया टी–२० विश्वकप क्रिकेटको सुपर ‘एट’मा प्रवेश

जेष्ठ ३१, २०८१ | काठमाडौं

आयोजक वेस्ट इण्डिज आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा न्युजिल्याण्डलाई १३ रनले पराजित गर्दैसमूह चरणको एक खेल अगावै वेस्ट इण्डिजले अन्तिम आठमा स्थान पक्का गरेको हो।वेस्ट इण्डिजको यो लगातार तेस्रो जित हो ।

ब्रायन लारा क्रिकेट एकेडेमीमा १ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनमात्रै बनाउन सक्यो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन ।

ओपनर फिन एलेनले २६ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोशेफले ४ तथा गुणकेश मोतीले ३ विकेट लिए।त्यसअघि न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा आएको वेस्ट इण्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाएर १सय४९ रन बनाएको थियो ।

वेस्ट इन्डिजको जितमा सर्फेन रथफोर्डले सर्वाधिक ६८ रन जोड्दै नट आउट रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ३ तथा टिम साउथी र लोकी फर्गुशनले समान २÷२ विकेट लिए।समूह बीमा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको वेस्ट इण्डिजले अब समूहको अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ ।

पहिलो खेलमा अफगानिस्तानसँग हार व्यहोदै अंकबिहीन रहेको न्युजिल्याण्डले अब युगान्डा र पपुवा न्युगिनीसँग खेल्न बाँकी छ। वेस्ट इण्डिज र पपुवा न्युगिनीसँग खेल्न बाँकी रहेको अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ।

अमेरिकामाथि ७ विकेटर्को जितसहित इण्डिया सुपर ‘एट’मा 

आयोजक अमेरिकालाई हराउँदै इण्डिया टी–२० विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ ।

 न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गएराति भएको समूह एको खेलमा इण्डियाले घरेलु टोली अमेरिकामाथि ७ विकेटको संघर्षपूर्ण जित निकाल्यो ।

१ सय ११ रनको लक्ष्य इण्डियाले १८ ओभर २ बलमा पूरा ग¥यो । इण्डियाको जितमा सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय इनिङ्स खेले । अमेरिकाका सौरभ नेत्रावलकरले २ विकेट लिए । त्यसअघि इण्डियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएकोे अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ यस १० रन बनाएको थियो ।

घरेलु टोलीका लागि नितिश कुमारले बनाएको २७ रन जोड्नु बाहेक अन्यले राम्रो स्कोर जोड्न सकेनन् । यो नतिजासँगै इण्डिया एक खेल अगावै ६ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा रहँदै ‘सुपर एट’मा पुगेको छ । अमेरिका भने तीन खेलबाट चार अंकका साथ दोस्रो स्थानमा छ ।


प्रतिक्रिया