जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता आजदेखि
पुस २१, २०८१ | काठमाडौं
मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा आजदेखि घरेलु बहुदिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । नेपाली क्रिकेटमा लामो समयपछि रातो बल र सेतो पोसाकको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने चार टिमबीच सम्मिलित यो प्रतियोगिता माघ ३ सम्म चल्नेछ । गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका टिमबीच टेस्ट संरचनामा जय ट्रफी खेलाइन लागेको हो ।
मधेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच जनकपुरको रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशाला र वीरगञ्जको नारायणी खेल मैदानमा प्रतिस्पर्धा हुनेछ । जय ट्रफीको उद्घाटन जनकपुरमा हुनेछ भने समापन वीरगञ्ज गरिने क्यानले जनाएको छ ।
प्रतियोगिताका ३ खेल जनकपुरमा र ३ वीरगञ्जमा हुनेछ । अरु खेल दुईदिवसीय हुनेछ भने फाइनल तीन दिवसीय हुने क्यानले जनाएको छ । जनकपुरधाममा आज बिहान साढे ९ बजेदेखि सुरु हुने खेलमा बागमती र मधेश प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।
गत वर्ष माघमा भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई यो प्रतियोगिताका लागि छनोट गरिएको थियो । आजै वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दै छन् ।