म्यानचेस्टर युनाइटेडले लिभरपुललाई बराबरीमा रोक्यो
पुस २२, २०८१ | काठमाडौं
इंग्लिस प्रिमियर लिग फुटबलमा लिडर लिभरपुललाई बराबरीमा रोकेको छ । एनफिल्ड स्टेडियममा भएको पछिल्लो खेलमा म्यान युनाइटेडले घरेलु टोली लिभरपुलसँग २–२ गोलको बराबरी खेलेको हो ।
यो नतिजाले लिभरपुलको उपाधि तर्फ उन्मुख यात्रामा धक्का पुगेको छ । लिभरपुललाई अझै पनि दोस्रोमा रहेको आर्सनलमाथि ६ अंकको अग्रता प्राप्त छ र उसले एक खेल कम खेलेको छ ।
लिगमा लगातार चार वटा हारबाट बच्न संघर्षरत म्यान युनाइटेडले खेलको ५२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो । खेलको ५९ औं मिनेटमा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए । मोहम्मद सलाहले ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।
एक गोलले पछि परेको म्यान युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दैै खेल बराबरीमा ल्याए । उसका लागि खेलको ८० औं मिनेटमा एमाद डियालोले बराबरी गोल फर्काएका थिए ।
यो बराबरीसँगै शीर्ष स्थानको लिभरपुलको १९ खेलबाट ४६ अंक भएको छ । म्यान युनाइटेड भने २० खेलबाट २३ अंकसहित तालिकाको १३ औं स्थानमा उक्लिएको छ । यस्तै, लिगको अर्को खेलमा फुलहम र इपस्विच टाउनले २–२ गोलकै बराबरी खेलेका थिए ।