यू–१९ विश्वकप क्रिकेटः प्लेअफमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
माघ ११, २०८१ | काठमाडौं
आइसिसी यू–१९ महिला विश्वकपको प्लेअफको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले अविजित २३ रन बनाएकी थिइन् । उनले ३२ बलमा ४ चौका प्रहार गरेकी थिइन् । मलेसियाको जोहरमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६ दशमलव ५ ओभरमा ४५ रनमै अलआउट भएकोे थियो ।
मलेसियाका लागि व्याटर नुरीमनले सर्वाधिक १५ रन बनाएकी थिइन् बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ र रचना चौधरीले ३ विकेट लिएका थिए । रिया शर्मा र सीमाना केसीको नाममा १–१ विकेट रह्यो । समूह ‘डी’ मा तीनै खेलमा पराजित भएपछि नेपालले १३ देखि १६ औं स्थानको प्लेअफका लागि प्रतिस्पर्धा गरेको हो ।