दूधराक्ष कप राष्ट्रिय पुरुष भलिबलमा मणिमुकुन्दको दोस्रो जित

माघ २७, २०८१ | तिलोत्तमा

रुपन्देहीको सैनामैनामा जारी दूधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा मणिमुकुन्द क्लबले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा गल्कोट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै मणिमुकुन्द विजयी भएको हो । 

खेलमा गल्कोटले पहिलो सेटमा जित निकाल्यो । उसले मणिमुकुन्दलाई २८–२६ को सेटमा हरायो । दोस्रो सेटमा मणिमुकुन्दले २५–२०, तेस्रो सेटमा २५–२१ र चौंथो सेटमा २५–२२ ले गल्कोटलाई हरायो । 

पहिलो सेट जितेको गल्कोट अन्य सेटमा खुम्चियो । प्रतियोगिता अन्तर्गत आइतबार हुने दुई खेल मध्ये पहिलो खेल एपीएफ क्लब र नेपाल पुलिस साथै दोस्रो खेलमा गल्कोट र कोशीबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिए । प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ ।


प्रतिक्रिया