भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आज सुरु हुँदै

फाल्गुन ७, २०८१ | झापा

भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आज सुरु हुँदैछ । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुने प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा तीन विदेशी र दुई विभागीय सहित १० टोलीले भाग लिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा नेपाल पुलिस, एपीएफसँगै भारत, बंगलादेश र भुटानको टोलीले सहभागिता जनाउने छन् । त्यस्तै झापा–११ एफसी, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, न्युरोड टिम (एनआरटी) लगायतको सहभागिता रहने छ । 

उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स र पाहुना टोली दार्जिलिङ पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । भद्रपुरस्थित मेची रंगशालामा हुने उद्घाटन खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

प्रतियोगिताका विजेताले १३ लाख रुपैयाँ तथा उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ७८ लाख रुपैयाँ खर्च अनुमान आयोजकले गरेको छ । 

सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५ हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५÷२५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पूर्वफुटबलर गम्भीर राई स्मृतिको आयोजना प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक तथा झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेको छ ।


प्रतिक्रिया