राष्ट्रिय महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै

चैत्र ९, २०८१ | चितवन
चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुने भएको छ । उपाधिका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मीले एपीएफ क्लबको सामना गर्नेछ ।
भरतपुरस्थित कृष्णपुर खेल मैदानमा दिउँसो साढे ३ बजे आर्मी र एपीएफ आमनेसमाने हुनेछन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
एपीएफकी कप्तान अनिता बस्नेतले विपक्षीलाई कमजोर नआँक्ने बताइन् । यता आर्मीकी कप्तान सुनिता चौधरीले आफूहरुको लक्ष्य उपाधि नै रहेको दाबी गरिन् ।
पहिलो सेमिफाइनलमा एपीएफ क्लबले घरेलु टोली भरतपुर–२४ लाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलमा रौतहट फुटबल क्लबलाई ६–३ गोलले हराउँदै आर्मीले एपीएफसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैया तथा उपविजेताले एक लाख ५० हजार रुपैया प्राप्त गर्ने आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।