आईपीएल आजदेखि सुरु हुँदै, उद्घाटनमा केकेआर र आरसीबी भिड्ने

चैत्र ९, २०८१ | काठमाडौं
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८ औं संस्करण भारतमा आज सुरु हुने भएको छ । आईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।
कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । कोलकाता नाइट राइडर्स अजिन्क्या रहानेको कप्तानीमा मैदान उत्रदा रोयल च्यालेञ्जर्स बेंग्लोरको नेतृत्व रजत पाटीदारले गर्नेछन् ।
कुल १० टोलीको सहभागिता रहने प्रतियोगितामा फाइनल सहित ७४ खेल हुनेछन् । प्रतियोगिताको उद्घाटन र फाइनल खेल कोलकातास्थित इडेन गार्डेन स्टेडियममा हुनेछ । सन् २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ । प्रतियोगिता ६४ दिनसम्म सञ्चालन हुनेछ ।
राउन्ड रोबिनका खेल मे १८ सम्म चल्ने छन् भने पहिलो क्वालिफायर्स मे २०, इलिमिनेटर मे २२ र दोस्रो क्वालीफायर्स मे २३ मा खेलिनेछन् । फाइनल खेल मे २५ मा हुनेछ । आईपीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुने भएको छ ।
आईपीएल नेपाली टेलिभिजनमा पहिलो पटक आधिकारिक रुपमा प्रसारण हुन लागेको हो । आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जिटेका छन् । त्यस्तै कोलकाताले तीन पटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १–१ पटक उपाधि जितेका छन् ।