२३ औं तिलोत्तमा गोल्डकप आज सुरु हुँदै, विजेतालाई १२ लाख

चैत्र ९, २०८१ | तिलोत्तमा
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण रुपन्देहीमा आजदेखि सुरु हुने भएको छ । जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।
प्रतियोगिताका सम्पूर्ण खेल देवीनगरस्थित एन्फा टेक्निकल मैदानमा हुनेछ । प्रतियोगितामा २ विदेशीसहित ८ टिम सहभागी हुने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए ।
तिलोत्तमा गोल्डकपको २२ औं संस्करणको उपाधि विजेता मनाङ मर्याङ्दी क्लब भने यसपटक सहभागी नहुने भएको छ । सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा आयोजक करेन्ट रुपन्देही–११, विभागीय टोली एपीएफ क्लब, काठमाडौंको संकटा एफसी, भारतको जर्जियन एफसी छन् ।
यस्तै, समूह ‘बी’मा चर्च व्याइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, र भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लब छन् । आज हुने उद्घाटन खेलमा आयोजक करेन्ट रुपन्देही–११ र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो तीन बजे सुरु हुनेछ ।
यो वर्ष पुरस्कार राशिमा समेत १ लाख रुपैयाँ वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैलाई जनही ३१–३१ हजार रुपैयाँ र ट्रफी तथा सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कूटर प्रदान गरिने छ । प्रतियोगिताका प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई ११ हजार १ सय ११ प्रदान गरिने आयोजकले जनाएको छ ।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगितामा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डष्ट्रिज प्रालि मुख्य प्रायोजक हुन् । प्रतियोगिता सम्पन्न गर्न कुल १ करोड ८ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा बुटवल उपमहानगरपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।