ज्यान मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार आरोपीलाई १४ वर्षपछि पक्राउ गरी बिहीबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय झापा । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर  

श्रावण १, २०७७ | बिर्तामोड

ज्यान मुद्दाका फरार प्रतिवादीलाई १४ वर्षपछि झापाबाट प्रहरीले पक्राउ गरेको छ । साविक टाघनडुब्बा गाविस–९ निवासी ३५ वर्षीय नत्थु विश्वकर्माको हत्या आरोपमा फरार रहेका मेचीनगर नगरपालिका–५ का बौदल लाम्गादे विक भनिने पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई मंगलबार मेचीनगर–८ इँट्टा भट्टा चोकबाट पक्राउ गरी जिल्ला प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । टाघनडुब्बास्थित ससुराली घर गएका पुण्यप्रसादले २०६३ चैत १२ गतेका दिन नत्थुलाई कुटपिट गरेका थिए । 

कुटपिटबाट गम्भीर घाइते बनेका नत्थुको २०६३ चैत २५ गते उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको थियो । लामो समयदेखि फरार रहेका पुण्यप्रसादको नाममा जिल्ला अदालतले गत बैशाख ३० मा पक्राउ पुर्जी जारी गरेको थियो ।

ससुराली घर गएका पुण्यप्रसादले २०६३ चैत २४ गतेका दिन नत्थुको साइकल लिएर स्थानीय कामाटोली बजार गएका थिए । साँझसम्म फिर्ता नल्याएपछि नत्थु आफ्नो साइकल लिन पुण्यप्रसादका ससुरा नन्दुलाल विश्वकर्माको घर गएका थिए । साइकल लिन गएका नत्थुलाई मादक पदार्थ सेवन गरी बसेका पुण्यप्रसादले कुटपिट गरेका थिए ।

घटनालगत्तै फरार रहेका पुण्यप्रसाद बौदल लाम्गादे विकको नामबाट आफूलाई चिनाउने गरेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा बौदल लाम्गादे नै पुण्यप्रसाद विश्वकर्मा भएको खुलेको जिल्ला प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो । 

घटनाको प्रत्यक्षदर्शी, उनीसँग लामो समयदेखि काम गर्दै आएका साथीहरुले समेत बौदल लाम्गादे नै पुण्यप्रसाद विक भएको र उनले नै नत्थु विकको कुटपिट गरी हत्या गरेको बताएको प्रहरीको दाबी छ । प्रहरीले बुधबार जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको एसपी कोइरालाले बताउनुभयो ।

पुण्यप्रसाद पक्राउ परेको खबरले पीडित परिवारलाई राहत मिलेको मृतककी श्रीमती चन्द्रिका विश्वकर्माले बताइन । ‘यतिका वर्ष बितिसक्यो, श्रीमानको हत्यारा पक्राउ पर्दैन की जस्तो लागेको थियो । ढिलै भएपनि दोषी पक्राउ परेको छ । कानून अनुसार कडा कारबाही भएको हेर्ने मन छ’ उनले भनिन ।


प्रतिक्रिया