चन्दा माग्ने दुई रौतहटबाट पक्राउ

श्रावण ८, २०७७ | रौतहट

फोनबाट चन्दा माग्ने र नदिएको खण्डमा अपहरण गरी ज्यान मार्ने धम्की दिएको अभियोगमा रौतहट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहट र सर्लाहीका उद्यमी, ब्यापारी, शिक्षकलाई धम्क्याउँदै चन्दा मागेको अभियोगमा ईलाका प्रहरी गरुडाको टोलीले उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–३ गमहरियाका जयकिशुन ठाकुर र सर्लाही धनकौल गाउँपालिका–७ बैरियाका २८ वर्षीय मुुकेश यादव रहेको डीएसपी ज्ञानकुुमार महतोले बताउनुभयो । 

‘विभिन्न ब्यक्तिसँग चन्दा माग्ने र नदिए हत्या गर्ने धम्की दिने गरेको उजुरीपछि निगरानी बढाएका थियौ,’ उहाँले भन्नुभयो, ‘चन्दाको रकम लिन आउने बेला दुबै पक्राउ परे ।’ सर्लाही रामनगर गाउँपालिका २ धनकौल मावि छौटौलका प्रधानाध्यापक अशोक साहसँग दुबैले फोन मार्फत धम्की दिंदै ६ लाख मागेको प्रहरीले जनाएको छ ।

साह गरुडा–४ मा बस्दै आएका थिए । गरुडा प्रहरीका अनुसार ९८०८२०८११३ नम्बरबाट उनीहरुले विभिन्न ब्यक्तिहरुलाई धम्क्याउँदै चन्दा माग्दै आएका थिए । प्रधानाध्यापकको लिखित उजुरीपछि डीएसपी महतोको कमाण्डमा २० जना प्रहरी अनुुसन्धानमा जुटेको थियो । 

साहलाई आरोपीहरुले विभिन्न समयमा फोन गरेर चन्दा माग्ने र नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिएको डीएसपी महतोले बताउनुभयो । पक्राउ परेका ठाकुर र यादवले प्रधानाध्यापक साह सित पुुन: रकम माग गरेपछि प्रहरीकै योजनामा उनीहरुलाई रकम लिन आउन भनेको थियो । गरुडा ४ जिंगडिया चोकमा ना ४५ प ८१६५ नम्बरको मोटरसाईकलमा पैसा लिन आएका दुबैलाई सादा पोसाकमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

दुबैले यसअघि सर्लाही बरहथवा बजारका ग्यास डिलर तथा जग्गा कारोबारी रामदेव यादवलाई धम्क्याउँदै १५ लाख रुपैयाँ मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मागे बमोजिमको रकम नपाएपछि गत असार २३ गते यादवको घरमा गइ नलकटुवा पेस्तोल फायर गर्न खोज्दा नपड्किएपछि भागेको प्रहरीको भनाई छ । 

पक्राउ परेका दुुबैको साथबाट एकथान मोटरसाईकल, दुुईवटा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, ४ थान सिमकार्ड र पुककार्ड बरामद भएको प्रहरीले जनायो । पक्राउ परेका ठाकुर चन्द्रपुर–१० बाल्चनपुर चोकमा आकाश ग्रील उद्योग सञ्चालन गर्दै आएका थिए । यादव बाल्चनपुर चोकमै वेलनेस पोलिक्लिनिकमा काम गर्दै आएको खुलेको छ ।


प्रतिक्रिया