नागरिक जिम्मेवारी नबिर्स

असार ८, २०७७ | काठमाडौं

विगतका कुराहरु राम्ररी ठम्याउन नसक्ने र याद भईहाले पनि दुरुस्त याद नहुने समस्यालाई शर्ट टर्म मेमोरी लस भनिन्छ । गम्भीर दुर्घटनामा परी दिमागमा अक्सिजनको मात्रा कम हुने समस्याले मानिसलाई यस्तो अवस्थामा पुर्‍याउँछ । तर, हामी नेपाली कुनै ठूलो दुर्घटनामा नपरी हाल यो समस्याबाट ग्रस्त हुन थालेका छौं । 

कोरोना कहरले मुलुकलाई नराम्ररी गाँजेका बेला लकडाउन खुकुलो भएसँगै नागरिकले यसको प्रकोप र असरलाई पुरै बिर्सेको भान हुन थालेको छ । संक्रमण झन् झाँगिदै गर्दा खुकुलो बनेको लकडाउनमा जुन तहको सावधानी अपनाउनुपर्ने थियो , त्यो हामीले विस्तारै भुल्दै गएका छौं ।

हामीले बिर्सन थालिसक्यौं कि झण्डै तीन महिना हामी किन घरभित्र बसेका थियौं । अर्थतन्त्रले धान्नै नसक्ने गरी सम्पूर्ण मुलुक ठप्प हुँदा र उकुसमुकस भएका नागरिकलाई शान्तिको सास फेर्न दिन सरकारले लिएको पछिल्लो कदम स्वागतयोग्य छ । अर्थतन्त्रले नै नागरिकको जनजीवन चलायमान बनाउने हो ।

 परिस्थिति अनुकूल स्वरुप परिवर्तन गर्दै सेवाहरू खुलाउँदै जानुपर्छ र नागरिकको स्वास्थ्य भन्दा प्राथमिक कुरो अरु केही हुन सक्दैन । कोरोना भन्दा बढी अरू रोग र भोकले नागरिकको ज्यान जाने अवस्थापछि लकडाउन खुकुलो बनाईको हो । तर, कोरोना भाइरस आफैं लोप भएर नजाने र यसका लागि नागरिकले स्वास्थ्य सावधानी अपनाउनुका साथै आत्मानुशासनमा रहनुपर्छ ।

तर, लकडाउन खुकुलो भएपछिको अवस्थालाई केलाउने हो भने मुलुकमा कोरोना संक्रमितको संख्या बल्ल उकालो लाग्दैछ । यो कहिले उत्कर्षमा पुग्ने हो र झर्न थाल्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । सबै संक्रमणको चरित्र के हो भने यो पहिले उत्कर्षमा पुग्छ र बिस्तारै घट्दै जान्छ । 

लकडाउनको अवधिको पूर्ण पालना भएको भए सायद अहिले यो अवस्था आउने थिएन । तर, संक्रमणको कारखाना जस्तै बनेका ‘क्वारेन्टिन’ हरूलाई मापदण्डअनुकूल बनाउन नसक्दा र लामो समयसम्म परीक्षण दर तीब्र नपार्दाको परिणाम अहिले मुलुकले भोगिरहेको छ । अझ, सबैभन्दा महत्वपूर्ण त नागरिकहरू पनि उच्च सचेत र सावधान हुनुपर्ने अवस्था छ ।

 घरभित्रै रहेर उकुसमुकुस भएकाहरुको निर्वाध आवागमनले संक्रमणको दायरा र दर बढाउने जोखिम झन् बढेको छ । लकडाउनका बेला घरभित्रै बसेर नागरिकको दायित्व निर्वाह हुन्थ्यो । तर, अहिले नागरिकको दायित्व बढेको छ । भीडभाडमा नजाने, नगर्ने, मास्को अनिवार्य प्रयोग, हात धुने बानी बसाल्ने जस्ता सामान्य स्वास्थ्य सावधानीलाई पनि हामीले पालना गर्न सकिरहेका छैनौं ।

अबका दिनमा निजी पेसा–व्यवसाय सुरु गर्नेहरूले आफ्नो कार्यस्थलमा पनि सक्दो पहल गर्न आवश्यक छ । साबुन–पानीले पटकपटक हात धुने र त्यस्तो अवस्था नभएमा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था सार्वजनिक सेवा प्रदान गर्ने स्थलहरुमा उपलब्ध मात्रै हैन अनिवार्य हुन जरुरी छ । ।

कोरोनाको खोप र औष्धिको विकास नभइसकेको अवस्थमा हामी जति यस्ता उपायहरूको पालना गर्छौं, संक्रमण सर्ने र सार्ने सम्भावना त्यति नै कम हुन्छ । लकडाउन खुकुलो भईसकेको र सरकारले हिँड्डुलमा प्रतिबन्ध नलगाएको अवस्थमा संक्रमणबाट जोगिने प्रमुख उपाय घरबाट बाहिर ननिस्किनु हो भन्न मिल्दैन । 

र, घरबाहिर निस्किनेहरुले पनि घरमा भएका वृद्धवृद्धा वा जोखिममा पर्नसक्ने सदस्य र समूहका बारेमा सावधानी अपनाउन जरुरी छ । कमजोर स्वास्थ्य संरचना भएको हाम्रोजस्तो मुलुकमा परिवार र समुदायलाई जोगाउने जिम्मा नागरिककै काँधमा पनि आइपुगेको छ । 

लकडाउन सहज बन्यो भन्दैमा भुल्न के हुँदैन भने कोरोनाको कहर सकिएको हैन सजग र सतर्क हुनुमै बुद्धिमानी ठहर्छ । कोरोनामाथि जित हासिल गरेको ठानेर स्वास्थ्य सावधानीलाई नजरअन्दाज गरियो भने कवि भूपी शेरचनले भनेजस्तै :

हामी वीर छौं

तर बुद्धु छौं

हामी बुद्धु छौं

र त हामी वीर छौं, भनेजस्तै हुन पुग्छ । 


प्रतिक्रिया