ममता काफ्ले वेपत्ता प्रकरणः अपराध गर्ने प्रवृत्तिको उदाहरणको रुपमा घटनाको व्याख्या

भाद्र १३, २०८१ | काठमाडौं

अमेरिकामा तीन सातादेखि नेपाली नर्स ममता काफ्ले वेपत्ता छन् । भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट गत १६ साउन बाट बेपत्ता काभ्रे पनौती ६ स्थायी घर भएकी ममताको हत्या भएको आशंका गरिएको छ । उनको हत्या भएको आंशकामा अमेरिकामा प्रहरीले श्रीमानलाई समेत पक्राउ गरेको छ । ममताको डेढ वर्षको छोरीलाई भने हेरचाह केन्द्रमा लगिएको छ । ममता वेपत्ता र हत्या भएको प्रसंगलाई लिएर घरेलु हिंसाका घटनाको उपज भएको समेत विश्लेषण गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ममताका श्रीमान् नरेश भट्टलाई गत बिहीबार पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार ममताका पति नरेशमाथि २८ वर्षीया ममतालाई घरभित्रै मारेर उनको शव बाहिर लगेको आरोप लागेको छ । यसैक्रममा बेपत्ता भएकी ममताको परिवार अमेरिका जाने प्रक्रियामा छन् । पछिल्लो समय परिवार भित्रै स्नेहको अभाव, पारिवारिक बेमेल र आर्थिक समस्या लगायत विविध कारणबाट आपराधिक घटना गर्न उद्दत भएको विवरण सार्वजनिक भइरहेका छन् ।

वेपत्ता भएको भनिएकी ममतालाई उनी कार्यरत भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएको बताइन्छ । जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको थियो । त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए । त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षकी छोरी मात्रै थिए । ममता त्यसअघि समेत पटकपटक घरबाट बेपत्ता हुने गरेको बताउँदै नरेशले सोधपुछमा पुगेको प्रहरीलाई फर्काइदिएका थिए । यद्यपी, ममताका साथीहरुको उजुरीका आधारमा प्रहरीले खोजी सुरु गरिसकेको थियो। घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको हो ।

अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिए । त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो । प्रहरीले उनका साथीहरुसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडिओलाई समेत गहन रुपमा अध्ययन गरेर र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो । नरेशको घरमा पुनः खानतलासी गरेपछि गत बिहीबार उनलाई प्रहरीले पक्राउ गरेको थियो । अमेरिकी सञ्चारमाध्यमले नरेशले श्रीमती ममताको घरभित्रै हत्या गरी शव बाहिर घिसारेर लगेको उल्लेख गरेका छन् ।

विभिन्न कागजातका आधारमा भने नरेशलाई शरीर लुकाउने कार्य गरेको आरोप लगाइएको छ । नरेशले ३० जुलाईमा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात लास घिसार्दै बाहिर ल्याएको अभियोजनकर्ताले अदालतमा बताएका छन्। नरेशका वकिलहरूले भने नरेशको आपराधिक पृष्ठभूमि नरहेको र अभियोजनकर्ताले आरोप पुष्टी हुने कुनै ठोस प्रमाण नरहेको दावी गरेका छन् । यो घटनालाई समाजमा हुर्किदै गएको घरझगडा र अपराधिक परिघटनाको रुपमा अथ्र्याइएको छ । यस्ता घटना बढ्नुको कारणबारे समाजशास्त्री डा. दिपेश घिमिरेले भने–‘सम्बन्धमा जबरजस्ती बस्नाले नै कतिपय अपराधजन्य घटना बढेको देखिन्छ ।, जुन बेला सम्म मन मिल्छ बस्ने नभए कानुनी ढंगले अलग हुने प्रक्रियामा जानु नै उपयुक्त हुन्छ । ’

भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास तथा एकल परिवारका सोच, आर्थिक समस्या लगायत कारण समेत अपराधका घटना बढ्ने गरेको मनोविद्हरुको बुझाइ छ । हुन त अमेरिकामा वेपत्ता भएकी नर्स ममताको घटनामा आधिकारिक विवरणहरु सार्वजनिक भएका छैनन् । परिवार र समाजमा बढिरहेको तिक्तता, मनमुटाव, बिग्रह, द्वोष र कलह यस्ता घटनाका कारक तत्व भएको बताइन्छ । पारिवारिक बेमेलले अपराधको बाटोसम्म पु¥याइरहेको परिस्थितिबारे त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागकी प्राध्यापक डा. नन्दिता शर्माले भनिन्–‘समाजमा पारिवारिक बनोट पहिलाको जस्तो संरचना नभएको र व्यक्तिवादी सोचका कारण समेत द्वोष, कलह, बिग्रह हुँदै अपराध गर्नसम्म उद्दत भएका घटना देखिएको छ ।’

असहज परिस्थितिमा समेत जबरजस्ती सम्बन्ध स्थापित गर्नुको साटो तनाव सुल्झाउन परामर्श लिएर अवस्था सामान्य तर्फ लैजान सकिने शर्माको भनाइ छ । उनले भनिन्–‘समस्या समाधानका उपायमा जान मनोपरामर्श तथा विभिन्न थेरापिष्टमा गएर अथवा अलग भएर बस्न सकिन्छ । अपराधको यो तहसम्म आउनु भनेको विकराल अवस्था हो ।’

पारिवारिक झगडा हुँदै घरेलु हिंसाको शिकार ममता भएको बताँइदै विभिन्न विश्लेषण अहिले सार्वजनिक वृत्तमा भइरहेको छ । वेपत्ता भएकी नर्स ममताको अवस्था अज्ञात नै रहेको अवस्थामा अमेरिकास्थित प्रहरी निकायले भने उनी जीवित रहेको कुनै संकेत नरहेको बताउँदै आएको छ । ममताको खोज र हत्याबारे अनुसन्धान जारी छ ।  

तारा ढकालका अन्य लेखहरु पढ्न यहाँ क्लिक गर्नुहोस् 


प्रतिक्रिया