साहित्यिक महोत्सवमा साहित्य नै ओझेलमा !

चैत्र १७, २०८१ | काठमाडौं
अघिल्लो महिना विभिन्न शीर्षक र विषयवस्तुमा केन्द्रीत रहेर साहित्यिक महोत्सवहरु आयोजना भए । पछिल्ला वर्षहरुमा साहित्यिक महोत्सव गर्ने क्रम बढेसँगै विविध विषयमा अन्तक्रिया र बहसहरुले राम्रै स्थान पाएका छन् । तर, कतिपय क्षेत्रबाट साहित्यिक महोत्सवमा साहित्य भन्दा फरक विषयलाई प्राथमिकता दिएको भन्दै आलोचना भइरहेको छ । त्यतिमात्र होइन, संख्यात्मक वृद्धिसँगै ती महोत्सवको सार्थकतामाथि पनि प्रश्नहरु उठ्न थालेका छन् ।
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि साहित्यिक महोत्सव आयोजनाको क्रम बढ्दै गएको छ । पछिल्ला वर्ष विभिन्न स्थानमा साहित्यिक महोत्सव आयोजना हुँदै आएका छन् । हरेक वर्ष आयोजना गरिने ‘नेपाल लिटरेचर फेस्टिभल’ को नयाँ संस्करण पोखरामा यसपालि भइसकेको छ । साहित्यिक महोत्सवको लर्कोलाई हेर्दा सुर्खेतमा कर्णाली उत्सव, जनकपुरमा जनकपुर साहित्यिक महोत्सव, काँकडभित्तामा कला साहित्यिक महोत्सव, काठमाडौंमा काठमाडौं उत्सव, बर्दियामा थारु साहित्य राष्ट्रिय सम्मेलन अनि धादिङमा बागमती साहित्य महोत्सव, विराटनगरमा कोशी विचार उत्सव गरियो भने अघिल्लो साता कैलालीमा टीकापुर साहित्य महोत्सव सम्पन्न गरियो ।
साहित्यिक महोत्सवमा सहभागी हुँदै लेखक, सञ्चारकर्मी, राजनीतिक नेतादेखि विभिन्न क्षेत्रका विज्ञहरुले आफ्नो धारणा राख्ने अवसर पाएका छन् । पठन संस्कृति बढ्दै जाँदा महोत्सवप्रति सम्वन्धित क्षेत्रका व्यक्तिको आकर्षण पनि बढ्दैछ । तर कतिपयको बुझाइमा अहिले भइरहेका साहित्यिक महोत्सवहरुले पाठक र लेखकबीचको सम्बन्ध सेतु स्थापित गर्न चुकेको टिप्पणी भएका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवम् समालोचक राम लोहनीले भने, ‘पछिल्लो समय साहित्यिक महोत्सवको प्रभावकारिता घट्दै गएको छ । महोत्सवमा हुने गरेको छलफलको निचोडका बारेमा अनुसन्धान भएको छैन । तयारीबिना छलफल हुने महोत्सवको निष्कर्ष प्रकाशन भएको देखिँदैन् ।’
साहित्यिक महोत्सवले विभिन्न क्षेत्रका व्यक्ति र विज्ञहरुलाई एक्सपोजरको अवसर पनि दिएका छन् । तर, एउटै शैलीका समूहगत अर्थात् प्यानल डिस्कसन र उस्तै प्रकृतिका विषयवस्तुका कारण महोत्सवहरु पृथक हुन नसकेको धारणा पाइन्छ । पोखरामा हालै सम्पन्न नेपाल साहित्य महोत्सव, नेपाल लिटरेचर फेस्टिभलको चर्चा अन्यको तुलनामा बढी हुँदै आएको छ । चार दिनसम्म आयोजित महोत्सवमा आर्थिक, सामाजिक, राजनीतिसँगै साहित्यिक विषयवस्तु समेटिएका थिए । महोत्सवका कुल ५० वटा बहसमध्ये १६ वटा मात्र साहित्यसँग सम्बन्धित भएको देखियो । यसकै दृष्टान्त दिएर साहित्य महोत्सवमा साहित्य कम राजनीतिक र आर्थिक बहस बढी भएको भन्दै आलोचना भएका हुन् । साहित्य महोत्सवमा साहित्यको महत्व र यसले पु¥याएको योगदानको चर्चा बढी हुनुपर्ने कर्णाली उत्सव कुडा कर्णालीका कार्यकारी निर्देशक दिनेश गौतम स्वीकार गर्छन् । उनले भने, ‘साहित्यलाई कस्ता विषयमा सिमित गर्ने बारेको ज्ञान साहित्यकै अग्रजहरुसँग हुन जरुरी छ । पछिल्लो समयमा भैरहेका साहित्यिक महोत्सवहरुमा राजनीति, विषयले बढि प्रवेश पाएको देखिन्छ ।’
अहिलेका साहित्यिक महोत्सवहरु निजी क्षेत्रका संघ संस्थाको अग्रसरतामा बढी भएको पाइन्छ । ती महोत्सवहरुमा निम्त्याइएका वक्ताले आफ्नो विज्ञता अनुसार विविध विषयमा धारणा राख्ने गरेका छन् । आखिर यस प्रकारका महोत्सवले कस्तो योगदान गरिरहेका छन् त ? साहित्यकार नवराज लम्सालले भने, ‘महोत्सवहरुले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई एकै सुत्रमा बाँधेको छ । महोत्सवमा कस्ता व्यक्ति सहभागी भए र कस्ता बिचार राखे भन्ने विषय महत्वपूर्ण हो । समाजलाई आलोचनात्मक रुपमा हेर्न र बिचार गर्नका लागी धेरै सहयोग पुगेको छ ।’
महोत्सवहरुमा कला, साहित्य, संस्कृति, भाषाजस्ता वाङ्मयका विषय मात्र नभई राजनीतिक, अर्थतन्त्र, विकास–समृद्धि, खेलकुद, अन्तराष्ट्रिय सम्वन्ध र भूराजनीति लगायत मामिलामा बहस भएका छन् । ती बहसहरुले आलोचनात्मक चेतका साथै बौद्धिक विमर्शका लागि थुप्रै आधार खडा गरेका छन् । त्यसैले साहित्यिक महोत्सवमा साहित्यको विषय मात्र नभई अन्य मुद्दाबारे बहस हुनु स्वभाविक भएको कतिपयको धारणा छ । टिकापुर साहित्यिक महोत्सवका संयोजक एवम् साहित्यकार महेश विक्रम शाहले भने, ‘व्यक्तिसँग जोडिएका विषयलाई साहित्यबाट पृथक राखेर हामिले विश्लेषण गर्न मिल्दैन । साहित्यिक महोत्सवमा मानिससँग तादम्यता राख्ने विभिन्न क्षेत्रलाई स्थान दिनु स्वभाविक हो । ’
आलोचनाको अर्को पाटोमा भने स्थानीयस्तरका मुद्दामा समेत चर्चित वक्ताहरुलाई बोलाइएको भन्दै आयोजकहरुको आलोचना हुँदै आएको छ । अर्कोतर्फ महोत्सव आयोजनाका लागि चाहिने खर्च जुटाउन त्यति सहज नभएको आयोजकहरुनै बताउँछन् । महोत्सवको खर्च व्यवस्थापन गर्न उनीहरुले सम्वन्धित स्थानीय तहका साथै कर्पोरेट हाउसबाट सहयोग लिइरहेका छन् ।