नेपालबाट नर्सिङका जनशक्ति विदेशिने क्रम तिब्र, जनशक्ति अभाव हुने चिन्ता

फाल्गुन ७, २०८१ | काठमाडौं

दक्ष जनशक्तिको विदेश पलायन नेपालमा अब नयाँ बिषय रहेन । विभिन्न पेशा व्यवसायमा आवद्द व्यक्तिहरु आकर्षण रोजगारीका लागि विदेशिने गरेका छन् । यसै क्रममानर्सिङ विषयका जनशक्ति वर्षेनी ठूलो मात्रामा बाहिरिने गरेका छन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतसहितका विकसित मुलुक हुने गरेको छ । नर्सहरुको पलायनले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव अबको केही वर्षभित्रै देखिने चिन्ता व्यक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको नर्सिङ महाशाखाका अनुसार बिदेसिने नर्सको संख्या बढ्दै गएको छ । हरेक वर्ष एक हजार भन्दा बढी नर्स बिदेसिने गरेका छन् । मन्त्रालयका अनुसार २०५९ देखि ०८१ को असोजसम्ममा ४३ हजार भन्दा बढी नर्सले विदेश जान एनओसी लिएका छन् । त्यस्तै एनओसी लिएकामध्ये ९० प्रतिशत नर्स विदेश गइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार २०६९ देखि २०८० को चैतसम्ममा भेरिफिकेसन पत्र लिएका नर्सको संख्या ४० हजार ५ सय ३९ जना पुगेको छ । तीमध्ये अमेरिकाका लागि सबैभन्दा बढी २३ हजार ३ सय ७० नर्सले भेरिफिकेसनपत्र लिएका छन् । त्यस्तै अस्ट्रेलियाका लागि ११ हजार २ सय ८९, युएईका लागि दुई हजार ८ सय ४, डेनमार्कका लागि ६ सय ४७, बेलायतका लागि ६ सय ८५, क्यानडाका लागी ४ सय ६१, न्युजील्याण्डमा १ सय ७७, आयरल्याण्डमा ८६, कतारका लागि ३ सय ८६, कुबेतका लागि २ सय ६८, जर्मनीका लागि ३६, भारतका लागी ३५, फिनल्यान्डमा ८, माल्दिभ्सका लागी ३० र हङकङका लागि ५३ जना नर्सले ‘भेरिफिकेसन पत्र लिएको सरकारी तथ्यांङकले देखाएको छ । त्यस्तै करियर बनाउनकै लागि भनेर पछिल्लो समय साउदी अरेबिया, युएई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको सरोकारवालाहरुले बताएका छन् । नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै किन बस्न चाँहादैनन् भन्ने भन्ने प्रश्नमा नेपाल नर्सिङ काउन्सिलकी रजिष्ट्रार शुक्ला खनाल भन्छिन्, ‘नयाँ ऐन बनाउन तथा विज्ञापन गरेर नर्सको संख्या बढाउन आवश्यक छ । नेपालमा निजी अस्पतालहरुमा तलव भत्ता कम भएकाले समेत काम अनुसार पैसा नभएको भन्दै वर्षेनी नर्स विदेशिने क्रम जारी छ । यस विषयमा सरकारले गम्भिर भएर सोच्न आवश्यक छ ।’

सरकारी तथ्यांक अनुसार हाल नेपालका अधिकांश स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति आवश्यकता भन्दा कम छ । त्यसको एक कारण नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर जानु हो । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि विदेशतिर आकर्षित भएको नर्सहरुको भनाई छ । यसरी हेर्दा स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या दिनप्रतिदिन घट्टदैछ । निजि स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरुले महिनाको १० देखि १५ हजार रुपैयाँ तलवमा काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । १० देखि १५ लाख रुपैयाँ खर्च गरेर अध्ययन गरेका नर्सहरुले आफूहरुको पढाई खर्चनै नउठ्ने भएपछि उनीहरुले बाहिरी मुलुकलाई गन्तव्य बनाउन थालेको अनुभव उनीहरुको छ । एकातिर जागिर छाड्नेको संख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको संख्या कम हुँदै जानु स्वास्थ्य संस्थाहरूकालागि चिन्ताको विषय बनेको छ । नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हालसम्म दर्ता भएका नर्सको संख्या एक लाख २१ हजार छ । र, उनीहरुमध्ये बाहिरिने संख्या बढेको छ । प्राय नर्सहरु नेपालमा भविष्य नदेखेर बाहिर जाने गरेको वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेकै अवस्थामा पनि निजी र सरकारीमा गरी ६५ हजार नर्स जनशक्ति नेपालमा कार्यरत हुनुपर्ने हो । तर, नेपालमा अहिले १८ हजार सरकारी र ३२ हजार ५ सय निजी स्वास्थ्य संस्थामा कार्यरत छन् । राष्ट्रिय मानव स्रोत रणनीतिक अध्ययन प्रतिवेदन २०२१ अनुसार हाल सरकारी अस्पतालमा कार्यरत नर्सको संख्या १८ हजार छ । सो अध्ययनले सन् २०३० सम्ममा नेपालमा निजी र सरकारीमा गरी ८१ हजार नर्स चाहिने प्रक्षेपण गरेको छ । तर, अहिलेको अवस्थालाई हेर्ने हो नेपालमा सन् २०३० सम्ममा नर्सिङ क्षेत्रमा जनशक्तिको अभाव हुने विज्ञहरुको अनुमान छ । नेपालका सरकारी र निजी अस्पतालहरुमा मापदण्ड अनुसार नर्सिङ जनशक्ति नभएको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् । बिरामीको चाप र अस्पतालको शय्या अनुसार नर्सिङ जनशक्ति नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या देखिने गरेको छ । सरकारी मापदण्ड अनुसार वार्डमा रहेका ६ जना बिरामीका लागि एक जना नर्सको व्यवस्था हुनुपर्छ तर एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको वीर अस्पतालका चिकित्सक डा.सुदिप चन्द्र यादवले बताए ।

अस्पतालमा भर्ना भएका बिरामीको सेवाका लागि नर्सको निकै ठूलो भूमिका हुन्छ । तर, अस्पतालको मेरुदण्डका रुपमा रहेका नर्सहरु भने स्वदेशमा बस्ने वातावरण नभएको भन्दै विदेशी मुलुकलाई नै आफ्नो गन्तव्य बनाई रहेका छन् । त्यसैमध्यकी एक हुन करिब ५ वर्षदेखी नसिङ पेशामा कार्यरत नर्स मनिषा खनाल । नेपालमा आफ्नो भविष्य सुरक्षीत नभएको र परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण उनी अहिले क्यानडा जाने तयारीमा रहेको उनले बताइन् । उनले भनिन्, ‘अहिले नर्र्स पेशामा रहेर नेपालमै बसेर आफ्नो भविष्य बनाउँछु भन्नु चाँहि आफ्नै कमजोरी जस्तो लाग्छ । काम गरेअनुसार तलब नहुँदा दैनिकी गुजारा गर्नै मुस्कील छ ।’

सरकारी अस्पतालले स्थायी दरबन्दी नखुलाउने र निजी अस्पतालले सेवा–सुविधा न्यून दिने गर्दा नर्सहरू बाहिरिनुपरेको अवस्था बनेको हो । स्वदेशमै अध्ययन गरेपनि यहाँ दीगो रुपमा काम नगर्ने प्रवृत्तिले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जनशक्ति विदेश पलायन हुने बाध्यता अन्त्य गर्नुपर्ने देखिन्छ । 


प्रतिक्रिया