जापानले दिने खोप श्रावण२४ सम्म नेपाल भित्रिने

श्रावण २०, २०७८ | काठमाडौं

जापान सरकारले कोभ्याक्स सुविधामार्फत् नेपाललाई दिने कोरोनाविरुद्धको १६ लाख डोज खोप श्रावन २४ गतेभित्र नेपाल भित्रिने जनाएको छ । नेपालका लागि जापानीे दुतावासले जारी गरेको विज्ञप्तिमा अगस्त ८ तारिखभित्र सो मात्रामा एस्ट्राजेनेकाको खोप नेपाल भित्रिसक्ने उल्लेख छ । यसअघि आजै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग आज भएको भेटमा नेपालका लागि जापानी राजदूत किकुटा याटकाले जापानमा बनेको कोभिड–१९ विरुद्धको एस्ट्राजेनेकाको खोप छिट्टै आउने जानकारी गराउनुभएको थियो । 

यसैबीच, भुटान सरकारले नेपाललाई सहयोग गर्ने भनिएको तीन लाख डोज कोभिडविरुद्धको एस्ट्राजेनेका खोप आगामी शनिबार काठमाण्डौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार भुटानले खोप आफ्नै चार्टर फ्लाइटमा पठाउनेछ । मन्त्रालयले सो खोप कोभिसिल्डको दोस्रो डोज लगाउन बाँकी ६५ बर्षमाथिका नागरिकलाई दिने तयारी गरेको छ । कोभिसिल्डको पहिलो डोज लगाएका ९ लाख बढी जेष्ठ नागरिक सहित १३ लाख ३८ हजार बढी नागरिकले दोश्रो डोज पाएका छैनन् । 


प्रतिक्रिया