प्रतिमान निमाद्वारा बाग्मती सरकारलाई स्वास्थ्य सामग्री सहयोग

भाद्र २६, २०७८ | तिलोत्तमा

रुपन्देहीको भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले बाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामग्री हस्तान्तरण गरेको हो । 

स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो । 

फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एन–नाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीई २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायत सामग्री हस्तान्तरण गरेको छ । 

सो अवसरमा बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय निर्माण गरिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले तीनै तहका सरकारका बीचमा पुलको काम गर्न सक्ने भन्दै कोरोना महामारीलाई सरकार एक्लैले भन्दा पनि सबैको सहयोगबाट नियन्त्रण गर्न सक्ने बताउनुभयो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । प्रतिष्ठानले सात प्रदेशमा करीब ८ करोड रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


प्रतिक्रिया