असार ९ गतेदेखि ५–११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिइने

जेष्ठ २०, २०७९ | काठमाडौं

सरकारले असार ९ गतेबाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले विद्यालयमा खोप केन्द्र तोकि दुई चरणमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो । पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई श्रावण २ देखि ८ गतेसम्म दोश्रो मात्राको लागि खोप अभियान सञ्चालन हुनेछ । यस्तै दोश्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लाका लागि भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोश्रो मात्राको खोप अभियान सञ्चालन हुने मन्त्री खतिवडाले बताउनुभयो ।

अध्ययनका अनुसार खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै उहाँले सम्पूर्ण अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाइदिन आग्रह गर्नुभएको छ । यसअघि सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर र मोर्डना खोप लगाएको थियो । कोभ्याक्स सुविधा मार्फत् नि:श्ुल्क खोप उपलब्ध भएको मन्त्रालयले जनाएको छ । हालसम्म १२ वर्ष माथिका कुल जनसंख्याको ८५ प्रतिशत भन्दा बढीले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप लगाइसकेको मन्त्रालयको दाबी छ । ९६ प्रतिशतले कम्तीमा एक मात्रा लगाएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया