पश्चिम नवलपरासी डायरी

माघ २२, २०७७ | पश्चिम नवलपरासी

१. नारायणगढ–बुटवल सडक बिस्तार आयोजना अन्तर्गत दाउन्ने–पश्चिम खण्डमा रुख कटान अन्तिम चरणमा पुगेको छ । रुपन्देहीको तिलोत्तम सवडिभिजन वन कार्यालय अन्तर्गतका रुख कटानको स्वीकृति प्राप्त भएसँगै अहिले ५ हजार ६ सय रुख काटिंदै छ । सडक बिस्तारका लागि पश्चिम खण्डमा बर्दघाटदेखि बुटवलसम्म १० हजार रुख कटानको स्वीकृति छ । अब ३ हजार रुख मात्र काट्न बाँकी रहेको भन्दै केहीदिनमै सबै रुख काट्ने काम सकिने आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो । दाउन्ने पहाडको भने अन्तिम डिजाईन फाईनल नहुँदा काम सुरु हुन सकेको छैन । चार लेनमा बिस्तार हुन लागेको सडक निर्माणका लागि अहिले विभिन्न स्थानमा माटो फिलिङ्ग, साईड बिस्तार र पुल, कल्र्भट निर्माण भईरहेको छ । दाउन्ने–पश्चिममा ठूला ९ ओटा र साना २१ ओटा गरी ३० ओटा पुल नयाँ निर्माण गर्नुपर्नेछ । २ सय ४६ ओटा कल्र्भट निर्माण गर्नुपर्नेछ ।

२. कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत पश्चिम नवलपरासीमा आज एक सय १० जनालाई खोप लगाईएको छ । कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य कार्यालयका अन्य कर्मचारी, सरसफाईकर्मी र एम्बुलेन्स चालकसहित १ सय १० जनालाई खोप लगाईएको स्वस्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो । जिल्लामा हालसम्म ८ सय ६५ जनालाई कोरोना विरुद्धको खोप लगाईसकिएको छ । खोप लगाएकामा गम्भीर स्वास्थ्य समस्या नदेखिएपनि केहीमा भने समान्य ज्वरो आउने, दुख्ने लगायका लक्षण देखिएको पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण पोखरेलले स्थानीय तह विभाजन गरी दैनिक खोप लगाईएको जानकारी दिनुभयो । उहाँले खोप लगाउने कार्य सन्तोषजनक रहेको जानकारी दिंदै समयमै तोकिएका सबैमा खोप लगाईसक्ने बताउनुभयो ।

३. पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् हुँदा गण्डक बाँध र नदी नियन्त्रणका लागि निमार्ण गरिएको स्पर जोखिममा परेका छन् । तस्करहरुले दिनरात बालुवा, ढुंगा उत्खनन् गर्दा नदीले धार परिवतर्न गर्ने र ठूला खाडल पर्दा स्पर र ठोकर जोखिममा परेको हो । ठेक्का नलाग्ने नदीमा ट्याक्टरको ताती लाग्ने गर्दछ । गण्डक व्यारेज नजिकैबाट उत्खनन् हुँदा नदीले धार परिवर्तन गर्ने खतरा छ । सडकको दायाँबायाँ तस्करी गरेर राखिएका नदीजन्य पदार्थको स्रोत कुनै पनि सरकारी निकायले नखोज्दा तस्करको मनोबल बढेको छ । नारायणी नदी नेपाल–भारतबीचको सिमाना भएकाले यहाँबाट दुबै पक्षले गिट्टी, बालुवा र ढुंगा उत्खनन् गर्न पाउँदैनन् । नदी दोहनले सुस्तामा बाढी पस्ने खतरा बढेको गण्डक क्षेत्रको समन्वय गर्न स्थापना गरिएको भू–आर्जन अधिकारी तारासिहं थापाले बताउनुभयो ।

४. सदरमुकाम परासीमा अव्यवस्थित पार्किङ्गलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीले अभियान सुरु गरेको छ । परासीमा आजबाट एकतर्फ मात्रै पार्किङ्ग गर्न पाईनेछ । जथाभावी पार्किङ्गका कारण बजार क्षेत्र अव्यवस्थित बनेको र दुर्घटनाको जोखिम बढेकाले व्यवस्थित पार्किङ्गको लागि अभियान थालेको ट्राफिक प्रहरीले जनाएको छ । सवारी जाम हटाउनका लागि आजबाट सडकको एकातर्फ मात्र पार्किङ्ग गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख दिपेश बस्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया