कञ्चनपुर डायरी

मंसिर १६, २०७९ | कञ्चनपुर

१. सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपनि खरिद नगर्दा कृषकहरु मारमा परेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म पनि धान खरिद सुरु नगर्दा कृषकहरु गत वर्षको भन्दा सस्तोमा धान बिक्री गर्न बाध्य भएका हुन् । सरकारले मोटो धानको मुल्य प्रति क्विण्टल २९ सय ६७ र मसिनो धानको ३१ सय २८ रुपैयाँ निर्धारण गरेको छ । तर, अहिले कृषकहरु प्रति क्विण्टल २१/२२ सयमा बिक्री गरिरहेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका निमित्त प्रमुख तपेन्द्र प्रसाद उपाध्यायले केन्द्रबाटै अनुमित नआएका कारण धान खरिद गर्न नसकिएको बताउनुभयो ।

२ं चिसो बढेसंगै सुदूरपश्चिममा डेंगीको संक्रमण घटेको छ । चिसोयाममा लामखुट्टेको प्रकोप कम हुने भएकाले डेंगीको संक्रमण कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा ७५ जनामा संक्रमण देखिएको छ । अंग्रेजी महिना जनवरीदेखि नोभेम्बरसम्म प्रदेशमा १२ सय बढीमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रेल निरीक्षक हेमराज जोशीले बताउनुभयो । बर्खायाममा जमेको पानी पनि सकेको र लामखुट्टेको वृद्धि विकास पनि कम हुने भएकाले अहिले डेंगी संक्रमण नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।

३. महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र पहँच मार्गको काम अन्तिम चरणमा पुगेको छ । पुल र पहुँच मार्ग निर्माणको काम सकिन थालेपछि दोधारा चाँदनीवासीलाई महेन्द्रनगर आउजाउ गर्न सहज भएको छ । अहिले दोधारा चाँदनीबाट दूध, तरकारी र खाद्यान्न ढुवानीका लागि पक्की पुल भएर साधनहरु आवागमन गरिरहेका छन् । यति मात्रै होइन बिरामी बोक्ने एम्बुलेन्स आउजाउमा समेत सहज भएको दोधारा चाँदनीवासी बताउँछन् । पुल निर्माणको काम सकिएको छ भने पहँच मार्ग निर्माणको काम यो महिनाभित्रै सक्ने लक्ष्य राखिएको निर्माण कम्पनी सीएफईसी जेभिका इन्जिनियर किशोर पाण्डेयले बताउनुभयो । उहाँका अनुसार अहिले पुलको दुबैतर्फ निर्माण हुने पोखरीका तटबन्धको काम भइरहेको छ ।

४. दशैं तिहार र खेतीपातीसँगै निर्वाचन पनि सकिएपछि रोजगारीका लागि भारत जानेहरु बढ्न थालेका छन् । दशैं तिहारमा घर फर्केकाहरु अहिले धमाधम कामको खोजीमा भारत जान लागेका हुन् । कतिपय कामदार तिहार लगत्तै काममा फर्के पनि अधिकांश गहुँ छर्ने र मतदानका लागि फर्खिएका थिए । निर्वाचनको दोस्रो दिनदेखि नै भारत जानेको संख्या बढेको हो । अहिले दैनिक ४/५ सयको संख्यामा नेपालीहरु कामको खोजीमा भारत जान गरेको गड्डाचौकीस्थित नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहराले बताउनुभयो । उहाँका अनुसार निर्वाचन अघिसम्म दैनिक दुई/अढाई सय जना नेपालीहरु कामको खोजीमा भारत जाने गरेका थिए ।


प्रतिक्रिया