पर्सा डायरी

चैत्र २७, २०७९ | पर्सा

वीरगन्ज महानगरपालिकाले वीरगन्जमा रात्रि बजार सन्चालन गर्ने भएको छ । चैत ३० देखि वैशाख २ गते वीरगन्जको आदर्शनगर क्षेत्रमा लाग्ने रात्रि बजारको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरका मेयर राजेशमान सिंहले वीरगन्जको अर्थतन्त्रलाई चलायनमान बनाउने उद्देश्यकले रात्रि बजारको अवधारणा ल्याइएको बताउनुभयो । अहिले परीक्षण स्वरुप तीन दिन बजार लगाउन लागिएको भएपनि आउँदा दिनमा ९/१० नबज्दै बन्द हुने र बन्द गराउने गरिएको बजार समय बढाउँदै राति १ बजे सम्म सन्चालन हुने व्यवस्था गराउन खोजेको बताउनु भयो ।

प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका ५ देउरियास्थित प्रदेशी राउत थारूको घरबाट हिजो साँझ चरेश र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । राउतको घरमा लागु औषध रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको नेतृत्वमा खटिएको प्रहरी टोलीले घर खानतलाशी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ सय १८ किलो लागु औषध चरेश र ४ किलो गाँजा फेला परेको थियो । लागु औषध ओसार–पसार तथा किनबेचमा संलग्न रहेको आरोपमा प्रहरीले घरधनी ६० बर्षिय प्रदेशी राउत थारू, मकवानपुर राक्सिराङ गाउँपालिका ८ का ३५ बर्षिय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका ८ का २५ बर्षिय रोशन मोक्तानलाई पक्राउ गरेको छ ।

सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ उत्तरी भेगमा २ साता देखि बाघ आतंक जारी छ । कोइलाभार बिन्दवासिनी साझेदारी वनसंग जोडिएको सिधपुर, सखुवनिया, सियरही लगायतका गाउँमा बाघले आतंक मच्चाएको छ । वडा नं ५ का वडाध्यक्ष बासुदेव महतो थारूले स्थानीयको मकै खेतमा लुकेर बस्ने गरेको एउटा बाघले गाउँको प्रायः सबै भुस्याहा कुकुर मारेर खाई सकेको बताउनुभयो । केही घर पालुवा कुकुर पनि बाघले मारेको वहाले बताउनुभयो । बाघ डरले स्थानीय किसानहरु आफ्नो मकै खेतमा पस्न समेत छाडेको उहाँले बताउनुभयो । बाघको आतंकबारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराई सकेपनि हालसम्म नियन्त्रणको प्रयास कार्यालयबाट नभएको उहाँले गुनासो गर्नुभयो ।

मोफसलकै जेठो अस्पताल वीरगन्जस्थित नारायणी अस्पताल जनशक्तिको अभाव झेल्दै छ । कुनै समय पर्सादेखि महोत्तरी तथा चितवन र भारतको बिहारको सीमावर्ती गाउँहरुका समेत बिरामीको उपचार गन्तव्य रहेको अस्पताल अहिले आफै जनशक्ति अभावले रुग्ण बनेको छ । अस्पतालमा नेपाल सरकार तर्फको १ सय ९१ दरबन्दी रहेकोमा हाल १ सय ६३ जनशक्ति मात्र पदपूर्ति रहेको छ । बाँकी पद लामो समय देखि रिक्त रहेको छ । विकास समिति तर्फ पनि हाल दरबन्दी भन्दा कम नै जनशक्ति छन् । विकास समितितर्फ कूल १ सय ३० दरबन्दी रहेकोमा ८४ स्थाई, ७ करार र ३३ ज्यालादारीका गरी १ सय २४ मात्र दरबन्दी पदपूर्ति रहेको छ । आधा दर्जन दरबन्दी खाली रहेको छ । संघिय सरकारले सो अस्पताललाई २०७४ सालमा केन्द्रीय अस्पताल घोषणा गरेको थियो । तर अस्पतालमा त्यस अनुरुपको जनशक्ति भने उपलब्ध छैन । 


प्रतिक्रिया