काभ्रे डायरी

वैशाख ४, २०८० | काभ्रे

जिल्ला स्थित अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तार र स्तरोन्नतीको काममा ढिला सुस्ती भएको छ । सडक बिस्तार तथा स्तरोन्नती काम सुरु भएको १० महिना बित्दा समेत बित्दा समेत कामले गति लिन भने सकेको छैन । निर्माण सुरू भएको ४७ प्रतिशत समय बितिसक्दा १० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार, निर्माण व्यवसायीको लापरवाहीका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको देखिन्छ । सो सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिबीच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।

कोरोना संक्रमितको संख्या बढेसँगै काभ्रेका होटल व्यवसायीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनालाई प्राथमिकतामा राख्दै काभ्रेका सबै होटलहरुमा जनस्वास्थ्य सम्पर्क व्यक्ति राखिने तयारी भएको छ । जिल्ला कोभिड अनुगमन समिति, क्षेत्रिय होटल व्यवसायी संघ काभ्रे र उद्योग वाणिज्य संघ काभ्रेले होटल तथा पर्यटन व्यवसायलाई सुरक्षित बनाउने विषयमा छलफल गर्दै काभ्रेका होटलहरुमा जनस्वास्थ्य सम्पर्क व्यक्ति राखिने भएको छ । विगतका समयमा पनि होटल व्यवसायीले कोरोनाको समय सुरु अघि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्राथमिकतामा राखिएको क्षेत्रिय होटल व्यवसायी संघ काभ्रेका अध्यक्ष प्रेम कण्ठ माकाजु श्रेष्ठले जानकारी दिनुभयो ।

अपाङ्गता भएका बालबालिका केन्द्रित पहुँचयुक्त शैक्षिक श्रोत कार्यक्रमबाट समान उपलब्धी हासिल भएको पाइएको छ । प्रविधिमैत्री शिक्षण पद्धतिले अपाङ्गता भएका बालबालिकाहरुले अध्ययन गर्ने बानी र सम्झने शक्तिको विकास गराएको काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कालिदेवि प्रा.विको श्रोत कक्षाकी शिक्षिका जुना तामाङले जानकारी दिनुभयो । पहुँचयुक्त शैक्षिक श्रोतबाट समान उपलब्धी हासिल गर्न काभ्रेको बनेपा, धुलिखेल, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा रहेका स्रोत कक्षाहरू, विशेष र समावेशी विद्यालयहरू र मूलधारका विद्यालयहरूमा उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोग परियोजना सञ्चालन भएका छन् ।

पाँचखालका तरकारीमा विषादीको प्रयोगमा कमी भएको पाइएको छ । कृषि उत्पादनमा प्रयोग भइरहेको रासयनिक मल तथा विषादी प्रयोग न्यूनिकरणका लागि पाँचखाल नगरपालिका र लभ ग्रिन नेपालको सहकार्यमा २०७४ भदौदेखि वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना सञ्चालन गरिएको थियो । सो परियोजनाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, पाँच वर्ष यता पाँचखालमा तरकारीमा विषादीको प्रयोगमा कमी आएको देखिएको छ । प्रतिवेदन अनुसार, पाँच वर्षका अवधिमा कृषकहरुले औषत प्रति रोपनी वार्षिक ८६ एमएल कीटनाशक विषादी प्रयोग गर्ने गरेकोमा अहिले ६.५ एम एल मात्रै प्रयोग गर्ने गरेको देखिएको छ ।


प्रतिक्रिया