धनुषा डायरी

वैशाख ७, २०८० | धनुषा

फलको राजा भनिने आँपको उत्पादन यस वर्ष बढ्न सक्ने प्रक्षेपण कृषिविदहरुले गरेका छन् । कृषि ज्ञान केन्द्र धनुषाका प्रदीप कुमार यादवका अनुसार रुखहरुमा टिकुला मनग्यै लागेको तथा हालसम्म किराको प्रकोप नदेखिएकोले आँपको उत्पादन बढ्न सक्ने अनुमान छ । धनुषामा झण्डै ३ हजार हेक्टरमा आँपको खेती हुन्छ । बटेश्वर गाउँपालिका तथा उत्तरी–पूर्वी क्षीरेश्वरनाथ, धनुषाधाम, गणेशमान चारनाथ नगरपालिकालाई आँप जोन घोषणा गरिएको छ । कृषिविदहरुका अनुसार आँप अल्टरनेट वियरिङ्ग अर्थात् एक वर्ष बिराएर फल्ने जातको फल भएकोले गत वर्ष नफलेका आँप यस वर्ष राम्रो उत्पादन हुनेछ ।

बढदो गर्मीको कारण जनकपुरसहित ग्रामीण ईलाकाको जनजीवन प्रभावित भएको छ । ईनार, कुवा तथा चापाकल सुक्न थालेका छन् । गर्मीजन्य बिरामीहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यस वर्षको जाडोयाममा पानी नपरेको कारण आँप, लिची, कटहर लगायत फलहरुको उत्पादनमा ह्रास आउँने सम्भवाना छ । बढ्दो गर्मीको कारण प्रादेशिक अस्पताल जनकपुरमा बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गर्मीका कारण दैनिक ८ सयदेखि १ हजारसम्म बिरामी ओपिडीमा उपचारका लागि आउने गरेको प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोद यादवका अनुसार झाडापखाला, जन्डीस, फुड प्वाईजनिङ, हेपाटाईटीस ए, टाइफाइडका बिरामीको संख्या वृद्धि भएको छ ।

महालेखा परिक्षकको कार्यालयले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ । उपमहालेखा परीक्षक रविन्द्रप्रसाद देवकोटाले प्रदेश प्रमुख मिश्रलाई सो प्रतिवेदन बुझाउनु भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मिश्रले साधन श्रोतको अधिकतम् प्रयोग गरी बेरुजु घटाउँन प्रभावकारी योजना ल्याउनुपर्ने सुझाव दिनुभयो । प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक राधेश्याम गिरीले प्रदेशमा बेरुजु फर्स्यौट प्रमुख समस्या भएको बताउनुभयो । 


प्रतिक्रिया