जुम्ला डायरी

वैशाख १६, २०८० | जुम्ला

जुम्लाका किसानले मकै छर्न सुरु गरेका छन् । मकै लगाउने मौसमको सुरुवातसंगै किसानले मकै छर्न सुरु गरेका हुन् । जुम्लाका ८ वटै स्थानीयका किसानले धमाधम मकै खेती गरिरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ४ हेक्टर क्षेत्रफलमा गरिएको खेतीमा ११ हजार १ सय ३० मेट्रिक टन मकै उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताउनुभयो । गत आर्थिक वर्षमा ४ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा मकै लगाइएकोमा ११ हजार १ सय ५० मेट्रिक टन उत्पादन भएको छ ।

सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि सिंजालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक ललित रोकायाले खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाएको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख रोकायाले अहिले बालबालिका खोज र खोप भन्ने नीति लिइएको बताउनुभयो । शून्यदेखि १५ महिनाका २ सय १२ जना र १६ देखि २३ महिनासम्मका २ सय ३७ जना गरी ४ सय ४९ जनालाई खोप लगाएर पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक रोकायाले बताउनुभयो ।

चन्दननाथ आँखा अस्पतालमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाले सेवा लिएका छन । ३ दिने निःशुल्क शिविरमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको आँखा अस्पताल जुम्लाले जनाएको छ । शिविरका ८ सय २३ जनाको आँखा जाँच समेत गरिएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रमका जिल्ला संयोजक मिना आचार्यले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेशको आर्थिक, दाङको राप्ती आँखा अस्पताल र कर्णाली स्वास्थ विज्ञान प्रतिस्ठानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पतालले शिविरको आयोजना गरेको हो ।

चन्दननाथ नगरपालिका–८ स्थित भगवती आधारभूत विद्यालयले पोषण कर्नर स्थापना गरेको छ । विद्यालयमै पोषण कर्नर स्थापना गरेर पोषिलो स्थानीय उत्पादनको संकलन र प्रयोग गर्न थालिएको छ । खाजामा फापरको केक, रोटी, सिमी, भटमास, केराउको गेडागुडी, कोदाको रोटीदेखि पोषिला तरकारीहरु खुवाइन्छ । विद्यालयले पनि आफ्नै क्षेत्र आसपासको जमिनमा करेसाबारी बनाएर रैथाने वस्तुहरुको उत्पादन गरिरहेको प्रधानाध्यापक भीमबहादुर थापाले बताउनुभयो । विद्यालयमा दिवा खाजाको रुपमा जंकफुडको अत्यधिक प्रयोग हुने गरेको गुनासो बढिरहेको बेला भगवती आधारभूत विद्यालयले रैथाने खान्की खुवाउन लागेको छ । प्रायः विद्यालयमा विद्यार्थीलाई चाउचाउ र बिस्कुट जस्ता जंकफुड दिवा खाजाको रुपमा खुवाइने गरिन्छ । 


प्रतिक्रिया