आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

असार १७, २०८१ | काठमाडौं

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटर ५ रुपैयाँ बढाइएको जनाएको हो । 

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । 

आइओसीले आइतबार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४१ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ ९१ पैसा बढाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्ग अन्तर्गत झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगडी र वीरगञ्जमा पेट्रोल १६४ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेलको भाउ प्रतिलिटर एक सय ५४ रुपैयाँ ५० पैसा कायम भएको छ । 

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ६६ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५६ रुपैयाँ तोकिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ६७ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको हकमा निगमको डिपो कार्यालयदेखि १५ किलोमिटर दूरीको आधारमा खुद्रा बिक्री मूल्य तोकिएको निगमले जनाएको छ ।


प्रतिक्रिया