जनवरीमा करिब ८० हजार पर्यटक नेपाल भित्रिए

फाल्गुन ७, २०८१
सन् २०२५ को पहिलो महिनामा करिब ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा सोही अवधिमा १ दशमलव १ प्रतिशतले पर्यटक बढी भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार सन २०२४ को सोही अवधिमा ७९ हजार १ सय पर्यटक नेपाल आएका थिए । यस वर्षको पहिलो महिनामा ७९ हजार ९ सय ९१ जना पर्यटक भित्रिएका हुन् ।
पर्यटकको आगमनमा सामान्य सुधार देखिएपनि भारतीय पर्यटक आगमन भने १५ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो जनवरीमा २४ हजार एक सय ३९ भारतीय नेपाल घुम्न आएकामा यो जनवरीमा २० हजार चार सय ८५ मात्र भारतीय पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै पर्यटक भारतीय रहेका छन् । अमेरिका, चीन, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, भुटानलगायत देशबाट पर्यटक आउने गरेका छन् ।