अमेरिकामा हिम आँधीपछि ६ करोड मानिस प्रभावित

फाईल फोटो 

पुस २२, २०८१ | काठमाडौं

अमेरिकामा आएको भीषण हिम आँधीका कारण करीब ६ करोड मानिस प्रभावित भएका छन् । भीषण हिम आँधीका कारण धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सस, न्यू जर्सी र मिसौरी लगायत राज्यले आपतकाल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

अत्यधिक हिमपातका कारण ती राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । त्यहाँको स्थानीय प्रशासनले नागरिकहरुलाई यात्रा नगर्न समेत आग्रह गरेको छ । भीषण हिम आँधीका कारण हजारौं हवाई उडानहरु रद्द गरिएको छ भने विद्यालय बन्द गरिएको छ । भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।

हिम आँधीका कारण कान्सस र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन् । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ । त्यहाँको मौसम विभागका अनुसार मध्यदेखि पूर्वी तटसम्म करीब ३० राज्यको अवस्था गम्भीर हुने अनुमान गरिएको छ । वाशिङ्गटन डीसी लगायत ठूला शहरमा भारी हिमपात हुने सम्भावना रहेको बताइएको छ ।  


प्रतिक्रिया