सरकारलाई कांग्रेसको प्रश्न : खाडीका श्रमिक वर्ग शत्रुु हुन् प्रधानमन्त्रीज्यू ?
भाद्र ६, २०७७
सरकारले चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्चको भारी बोकाएर श्रमिकको पीडामाथि पीडा थपेको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेश सरकारले कार्यान्वयन नगरी श्रमिकलाई झन पीडा थप्ने काम गरेको बताउनुभयो ।
६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नु न्यायोचित नभएको पनि शर्माले बताउनुभयो ।
यस्तै, मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्धार उडानको अनुमति दिएकाले नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक नेपाल आइपुग्न महिनौं लाग्ने शर्माले बताउनुभयो ।
श्रमिकलाई ‘चार्टर उडानको महँगो टिकट, होटल क्वारेन्टिनको खर्च, पीसीआर परीक्षणको खर्च र गाउँ पुग्ने यातायात खर्च पनि आफै ब्यहोर्नु भन्ने सरकारको निर्णय न्यायोचित नभएको कांग्रेसको भनाइ छ ।
सर्वोच्चको आदेश पालना गरी सरकारी खर्चमै क्वारेन्टिन, पीसीआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।