नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ

चैत्र १७, २०७९

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो । प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको हो ।

पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्री बनेका छन् । आन्तरिक विवादका कारण कांग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ । पहिलो चरणमा कांग्रेसबाट मन्त्री बन्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बन्नु भएको छ । त्यस्तै माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नु भएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्नु भएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नु भएको छ । पहिलो पटक २०४४ सालमा मरिचमानसिं श्रेष्ठको पालामा सहायकमन्त्री बनेका भण्डारी योसहित १२ औं पटक मन्त्री बन्नु भएको हो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीका अब्दुल खानले सहमतिअनुसार उद्योग मन्त्रालयको जिम्मेवारी नदिएपछि खानेपानी मन्त्रीबाट राजीनामा दिनु भएको छ ।

सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने पाएको छैन । प्रधानमन्त्री दाहालसंगै अझै कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ । कांग्रेसभित्र शेखर कोइराला समूह र आम जनता पार्टीबाट सरकारमा सहभागी हुने भनेका प्रभु साह भने शुक्रबारको मन्त्रिपरिषद् विस्तारमा समेटिएका छैनन् ।


प्रतिक्रिया