कांग्रेसको महासमिति बैठकको दोस्रो दिन आज ४ वटा प्रस्ताव पेश

फाल्गुन ८, २०८०

नेपाली कांग्रेसको महासमिति बैठकको दोस्रो दिन आज ४ वटा प्रस्ताव पेश भएका छन् । नीति सम्वन्धि उपसभापति पुर्णबहादुर खड्काको प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रस्ताव र पार्टी प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र भावी दिशासम्वन्धि प्रस्ताव पेश भएको नेपाली कंग्रेसले जनाएको छ । ती प्रस्तावमाथि भोलिबाट समूहगत छलफल हुनेछ । महामन्त्री गगन थापाले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने बूँदासहितको प्रस्ताव पेश गर्नुभएको छ । पार्टी नेतृत्वसँग भएको सहमतिका आधारमा महामन्त्री थापाले आज बन्दसत्रमा प्रस्ताव पेश गर्नुभएको हो । प्रस्ताव पेश गर्दै उहाँले निर्वाचनबाट पहिलो दल भएपनि गठबन्धनका कारण नेता कार्यकर्तामा उत्साह नदेखिएको बताउनुभयो ।

महामन्त्री थापाले संगठन विस्तारका योजनासहित ३८ पृष्ठको प्रस्ताव पेश गर्नुभएको हो । संगठनभित्र रहेका समस्याबारे चर्चा गर्दै उहाँले आफ्नै पार्टीको अगुवाइमा भएका राजनीतिक परिवर्तनको अपनत्व पार्टीका सबै पंक्तिले लिन नसकेको गुनासो गर्नुभयो ।

यसैबीच, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनका विषयमा कांग्रेसले सतर्कता अपनाउनु पर्ने बताउनु भएको छ । महामन्त्री शर्माले गठबन्धन जोगाउन पहिलो दलको हैसियतमा कंग्रेसले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउंदा र गत राष्ट्रियसभा चुनावमा माओवादी उम्मेदवार पराजित हुंदा सहयात्री दलले असन्तोष प्रकट गरेको भन्दै उहाँले कमजोरी पहिचान गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । केन्द्र र प्रदेश दुवै स्थानमा समन्वय गर्न नसकिए गठबन्धन जोखिममा पर्ने महामन्त्री शर्माको भनाइ थियो ।

उपसभापति खड्काले आफ्नो प्रतिवेदन पेश गर्दै आवश्यक परेमा संविधान संसोधनका लागि कंग्रेस तयार रहेको बताउनुभएको थियो । त्यस्तै, अर्थमन्त्री महतले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थतन्त्र पुरानै लयमा फर्किन थालेको दावी गर्नुभयो । 


प्रतिक्रिया